वासिङ्टन, १७ वैशाख । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप चुलिएको हो । यही क्रममा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको थियो । पुटिनले अमेरिका र इजरायलले फेरि इरानमाथि युद्ध चर्काए ‘हानिकारक परिणाम’ आउने चेतावनी दिनुभएको बताइएको छ ।

तेल उद्योगसँग सम्बन्धित अधिकारीहरूसँगको भेटमा ट्रम्पले इरानी बन्दरगाहहरूको नाकाबन्दीलाई निर्णायक कदमका रूपमा व्याख्या गर्नुभयो । तेहरानले कुनै पनि सम्झौताअघि उक्त नाकाबन्दी हटाउन माग गरिरहेको छ । तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार नाकाबन्दी उल्लङ्घन गर्ने प्रयासमा रहेका ४२औँ व्यापारिक जहाजलाई समेत फर्काउन सफल भएको छ । यसबाट करिब छ अर्ब डलर बराबरको छ करोड ९० लाख ब्यारेल तेल बजारमा आउन नपाएको दाबी गरिएको छ ।

युद्धको प्रभाव अमेरिकी आन्तरिक राजनीतिमा पनि देखिन थालेको छ । यो सङ्घर्ष आम मतदातामाझ लोकप्रिय नभएकाले ट्रम्पमाथि युद्ध अन्त्य गर्न राजनीतिक दबाब बढ्दो छ । साथै, तेलको मूल्य वृद्धि हुँदा अमेरिकी उपभोक्ताको खर्च बढेको छ भने अमेरिकी सहयोगी देशहरू पनि असुरक्षामा परेका छन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले विश्वव्यापी तेल आपूर्ति सन्तुलनमा राख्ने उपायहरूबारे छलफल गर्दै आवश्यक परे नाकाबन्दी लामो समयसम्म कायम राख्ने तयारी गरेको छ । ट्रम्पले एक अन्तर्वार्तामा इरानमाथि दबाब तीव्र रूपमा बढिरहेको बताउँदै आगामी दिनमा थप कडा कदम चालिने सङ्केत दिनुभएको छ । यसबीच, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेको छ ।

अमेरिकी बेन्चमार्क ब्रेन्ट तेलको मूल्य १२२.५३ डलरसम्म पुगेपछि हाल करिब १२० डलरमा स्थिर भएको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट करिब १०८ डलर आसपासमा कारोबार भइरहेको छ । इरानले आफ्नो रणनीतिक स्थान—हर्मुज जलघाँटी—मार्फत प्रतिकारको सङ्केत दिएको छ । विश्वको करिब पाँचौँ भाग तेल यही मार्गबाट ओसारपसार हुने भएकाले यसको नियन्त्रणले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ ।

युरोपेली मोर्चामा पनि मतभेद देखिएका छन् । जर्मनीले इरानविरुद्धको युद्धमा प्रत्यक्ष समर्थन गर्न वा शान्ति सेनामा योगदान दिन अस्वीकार गरेपछि ट्रम्पले जर्मनीमा रहेका अमेरिकी सैनिक सङ्ख्या घटाउने चेतावनी दिनुभएको छ । जर्मन नेतृत्वले कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको छ ।

अमेरिकी उच्च अधिकारीहरूले इरानसँग संवादको प्रयास गरे पनि त्यहाँको शक्ति संरचनाबारे स्पष्टता नहुँदा वार्ता प्रभावकारी हुन सकेको छैन । इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्व तहमा क्षति पुगेकाले निर्णय प्रक्रियामा अन्योल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0