
सियोल, २२ कात्तिक । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ । शुक्रबार गरिएको उक्त मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बीचमा भएको हो ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने इच्छा व्यक्त गरेको एक हप्तापछि प्योङयाङले यो कदम चालेको हो । यद्यपि, उत्तर कोरियाले उक्त प्रस्तावमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । प्योङयाङका रक्षामन्त्री नो क्वाङ चोलले वासिङ्टन ‘उत्तर कोरियाको सुरक्षालाई गम्भीर जोखिममा पार्ने सैन्य गतिविधिमा निर्लज्ज रूपमा संलग्न भएको’ आरोप लगाउँदै अमेरिकी र दक्षिण कोरियाली कदमहरूले ‘जानाजानी क्षेत्रीय राजनीतिक र सैन्य तनावलाई बढाइरहेको’ बताउनुभयो ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ, “हामी शत्रुहरूको निरन्तर खतरा विरुद्ध अझ आक्रामक कारबाहीका कदमहरू देखाउनेछौँ ।” यसअघि, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उहाँका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) को संयुक्त भ्रमण गर्नुभएको थियो । त्यहाँ दुवै नेताले आफ्नो देशबीचको ‘बलियो संयुक्त रक्षा प्रतिबद्धता र घनिष्ठ सहयोग’ पुनः पुष्टि गर्नुभएको थियो ।
यसैबीच दक्षिण कोरियाली नौसेनाका अनुसार अमेरिकी आणविक–सञ्चालित विमानवाहक युएसएस जर्ज वासिङ्टन बुधबार बुसान बन्दरगाहमा रसद सहयोग र चालकदलका सदस्यहरूको विश्रामका लागि पुगेको थियो । प्योङयाङका अधिकारीहरूले यस कदमलाई ‘कोरियाली प्रायद्वीपमा तनाव थप बढाउने कार्य’ भएको भन्दै आपत्ति जनाएका छन् ।


























