
ब्युनस आयर्स, १० कात्तिक । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ ।
मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए ।
५५ वर्षीय राष्ट्रपति मिलेईले ब्युेस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौँ — आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ ।” उहाँले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेईलाई बधाई दिँदै उहाँलाई ‘अद्भुत काम गरिरहनुभएको छ’ भनेर प्रशंसा गर्नुभयो । आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एक तिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो । मिलेईले आफ्नो दलले प्रतिनिधिसभामा सिट सङ्ख्या ३७ बाट बढाएर १०१ र सिनेटमा छ बाट बढाएर २० पुर्याएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























