
संयुक्त राष्ट्रसङ्घ, ३१ असोज । विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषण जस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैन, तर ती प्रभावहरूको सबैभन्दा कडा चोट गरिब वर्गले बेहोर्नुपरेको छ ।
उहाँले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०) लाई विश्व नेताहरूले ‘जलवायु कार्यलाई गरिबी विरुद्धको कार्यका रूपमा हेर्ने अवसर’ बनाउन आग्रह गरे। युएनडिपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्त रूपमा प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार विश्वका १०९ देशमा रहेका एक अर्ब १० करोड मानिस अर्थात् करिब १८ प्रतिशत जनसङ्ख्या, ‘तीव्र बहुआयामिक गरिबी’ मा बाँचिरहेका छन् ।
यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षामा पहुँचजस्ता मापदण्डहरूका आधारमा नापिएको हो । तीमध्ये आधा बालबालिका रहेका छन् । प्रतिवेदनमा बोलिभियाको सान्ता क्रुज डे ला सिएरा बाहिर बसोबास गर्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण दिइएको छ । उनले आफ्नो परिवारका १८ सदस्यसँग सानो घर साझा गर्नुपरेको छ ।
घरमा एउटा मात्र शौचालय, काठ र कोइलाबाट चल्ने भान्सा छ र कुनै पनि बालबालिका विद्यालय जाने अवस्था छैन । प्रतिवेदनले यो अवस्थालाई ‘बहुआयामिक गरिबीको यथार्थ प्रतिबिम्ब’ भएको बताएको छ ।


























