
पोखरा, २३ असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले जेन्जिको आन्दोलनको क्रममा पोखरामा आगजनि तथा तोडफोड गरिएका गाडीहरुलाई कम खर्चमा यहिँ बनाउन सकिने र धेरै पैसा बाहिर जानबाट रोक्न सकिने बताएको छ ।
एशोसिएसनका अध्यक्ष विष्णु प्रसाद अधिकारी, महासचिव विजेन्द्र चौधरी, प्रेस सल्लाहकार कृष्ण थापासहित पोखराका पत्रकारको टोली बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउदै सो कुराको जानकारी गराएको हो ।
जेन्जि आन्दोलनको क्रममा पोखरामा तोडफोड, आगजनि भएका गाडीहरुको सहुलियत मूल्यमा यहिँ पुनः मर्मत गरेर नयाँ जस्तै बनाउन सकिन्छ, यहाँ रोजगारी पनि दिन सकिने र मर्मत गरेर नयाँ जस्तै बनाउन सकिने भएपछि धेरै रकम बाहिर जानबाट रोकिने अध्यक्ष अधिकारीले जानकारी गराए ।
एशोसिएसनले नयाँ गाडीहरु खरिद गर्दा हाम्रै पैसा बाहिर जाने भएकाेले सहुलियत मूल्यमा मर्मत गरेर चलाउन सके पैसा बाहिर जानबाट रोकिने र खर्च पनि कम हुने हुँदा यसको जानकारी उपल्लो तहसम्म पुर्याएर सहजिकरण गरिदिन महासचिव विजेन्द्र चौधरीले आग्रह गरे।
कास्कीमा ६ सय बढी सवारी साधनहरुमा क्षती भएको आकलन गरिएको छ भने कम्तिमा पनि साढे तीनसय गाडीहरुलाई यहि मर्मत गरेर नयाँ जस्तै बनाएर चलाउन योग्य बनाउन सकिने एशोसिएसनले जनाएको छ ।
एशोसिएसनमा यहाँका ३२१ वटा वर्कसप, ग्यारेज आवद्ध रहेका छन् । विभिन्न सामाजिक कार्य र स्वास्थ्य सचेतिकरणका कार्यहरुमा एशाेसिएसन सक्रिय रहेको छ ।
संस्थाले यस क्षेत्रमा अटो ल्याण्डको अवधारणालाई अगाडी बढाएको छ । साथै व्यवसायीहरुलाई करको दायरामा ल्याउने कार्य गरेको, सरसफाई, डेंगु नियन्त्रण लगायतका सचेतनाका कार्यहरु गर्दै आएको छ ।

























