
कायरो, २० असोज । इजरायल र हमासले सोमबार इजिप्टमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दैछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै हप्ता बन्धक मुक्तिको घोषणा गर्न सक्ने बताएका कारण गाजामा सम्भावित युद्धविरामको आशा थप प्रबल बनेको छ । यो वार्ता हमासको आक्रमणबाट सुरु भएको युद्धको दुई वर्ष पूरा हुने सन्दर्भमा हुँदैछ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शान्ति योजनाका केही अंशहरू स्वीकार गर्ने हमासको निर्णयलाई स्वागत गर्नुभएको छ । इजरायलले पनि उक्त अमेरिकी प्रयासलाई समर्थन जनाएको छ । योजनाअन्तर्गत हमासले बाँकी ४८ जना बन्धक तीन दिनभित्र रिहा गर्नेछ, जसमा करिब २० जना जीवित रहेको विश्वास गरिएको छ ।
साथै, हमासले शक्ति र निशस्त्रता त्याग्नेछ । इजरायली शीर्ष वार्ताकार रोन डर्मरको नेतृत्वमा प्रतिनिधिमण्डल सोमबार शार्म अल–शेख प्रस्थान गर्नुभएको नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्टका एक अधिकारीका अनुसार हमासको प्रतिनिधिमण्डल त्यहाँ आइपुगेको छ ।
ती अधिकारीका अनुसार अमेरिकी दूत स्टिभ विटकफ पनि वार्तामा सहभागी भइरहनुभएको छ । इजिप्टको विदेश मन्त्रालयका अनुसार वार्ताको केन्द्रविन्दु इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदी र हमासद्वारा राखिएका बन्धकहरूको आदानप्रदानमा हुनेछ ।


























