
वासिङ्टन, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गर्नुभएको छ । गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो ।
अक्टोबर १ देखि सुरु हुने नयाँ नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधि उत्पादनमा सतप्रतिशत प्रतिशत भन्सार शुल्क लगाइनेछ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा भन्नुभयो, “जबसम्म कुनै कम्पनीले अमेरिकाभित्र औषधि कारखाना निर्माण गर्दैन, त्यस्तो उत्पादनमा कर अनिवार्य हुनेछ ।” यस कदमको कडा आलोचना अस्ट्रेलियाबाट आएको छ । सन् २०२४ मा मात्रै अस्ट्रेलियाले अमेरिकामा करिब एक अर्ब ३५ करोड डलर मूल्यका औषधि निर्यात गरेको संयुक्त राष्ट्रसङ्घको कमट्रेड डाटाबेसले देखाउँछ ।
अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार प्रतिक्रिया दिँदै भन्नुभयो, “उच्च दरहरूले अमेरिकी उपभोक्तालाई हानि पुर्याउँछन्, यद्यपि अस्ट्रेलियाली निर्यातकर्ताले स्वतन्त्र व्यापारबाट लाभ उठाइरहेका छन् ।” औषधिपछि ट्रम्पले ट्रक उद्योगलाई लक्षित गर्नुभएको छ । उहाँले भन्नुभयो, “पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य अमेरिकी उत्पादकलाई सहयोग गर्न हामी विश्वका अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउँछौँ ।” यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलर (फ्रेटलाइनर, वेस्टर्न स्टार ब्रान्ड) जस्ता विदेशी कम्पनीलाई प्रत्यक्ष असर पुर्याउनेछ ।
युरोपमा सेयर बजार खुल्दा दुवै कम्पनीको मूल्य तीव्र रूपमा घटेको छ । राष्ट्रपतिले यो कदमलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोड्दै यस वर्षको सुरुमा सुरु गरिएको धारा २३२ अनुसन्धानलाई आधार बनाउनुभयो । उक्त प्रावधानले राष्ट्रपतिलाई आयातले राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको ठहरिएमा भन्सार शुल्क वा प्रतिबन्ध लगाउने अधिकार दिन्छ । ट्रम्पले यसलाई बारम्बार प्रयोग गर्दै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोज्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























