काठमाडौं, १९ भदौ । हालै विभिन्न सञ्चारमाध्यममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा) सम्बन्धमा प्रकाशित समाचारहरूले यस संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति नाडाले गम्भीर आपत्ति भएको जनाएको छ । यी सबै दाबीहरू तथ्यविहीन र निराधार छन्। नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको कुरा स्पष्ट पारेको छ ।

नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकोले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको जनाएको छ।

यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको र विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीता माथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य रहेको जनाइएको छ । यसका बारेमा प्राप्त उजुरीका आधारमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो।

दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि का.जि.प्र.कार्यालयले च.नं. १३० मिति २०८२÷०५÷१८ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको जनाइएको छ।

सो पत्रमा स्पष्ट रूपमा प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ भनि लेखिएको छ । यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको जनाइएको छ।

पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत हुन्। नाडाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय गरेको छैन। नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग रहेको जनाएको छ।

यसका बारेमा नाडाका अध्यक्ष करणकुमार चौधरीले संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै भने, मैले पुनः स्पष्ट पार्न चाहन्छु—म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन। यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु।

नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साझा संस्था हो, कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग गरिने संगठन होइन। संस्थागत सुधार र भविष्यका योजनाहरू पारदर्शि, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्र अघि बढाइने छन्।

हामी सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गर्दछौ, अध्यक्ष चौधरीले भने । का.जि.प्र कार्यालयको आधिकारिक पत्रमार्फत विशेष साधारण सभा निर्वाध सम्पन्न गर्ने अधिकार पुष्टि भइसकेकोले अब नाडा पूर्ण कानुनी र संस्थागत ढाँचाभित्र रही आगामी विशेष साधारण सभा सम्पन्न गर्नेछ, जारि प्रेस बिज्ञप्तीमा उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0