
काठमाडौं, १५ साउन । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेप्सेकाे ओरालोको यात्राले निरन्तरता लिएकाे छ । बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको थियाे ।
यसदिन नेप्से ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ।
बिहिबार कारोबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेको छ। हिजाे १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाेमा बिहिबार ३१८ कम्पनीहरुकाे १ लाख ६८ हजार ५९४ पटकको कारोबारमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयरकाे काराेबार भएकाे छ।
ट्रेड टावर र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतले बढेकाे छ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७.१० प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेकाे छ। कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे ७५ करोड रुपैयाँको र हिमालयन डिष्टिलरीको ६९ करोड रुपैयाँ बराबरकेा काराेबार भएकाे छ।
१३ उपसमूहहरुमध्ये वित्त उपसमूहमा मात्रै हरियाे लागेकाे छ । बाँकी १२ वटामा राताे लागेकाे छ । वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको परिसूचक २.४४ प्रतिशतले घटेको छ । बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको नेप्सेले जनाएकाे छ।





















