
दमौली (तनहुँ), २१ असार । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो ।
न्यौपानेले भन्नुभयो, “मानुङका मगरहरूले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न खोजेका हौ ।” नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ स्थित शिशाघाट नयाँ सहर आयोजनामा एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ । मानुङकोट पछिल्लो समय दृश्यावलोकन केन्द्रको रूपमा विकास भइरहेको छ । यहाँबाट देखिने सूर्योदय र कुहिरोको दृश्यले पर्यटकलाइै लोभ्याउने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ ।
राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेको होटल व्यवसायी चूडामणि दाहालले उल्लेख गर्नुभयो । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ ।
रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् ।
खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























