पोखरा, ११ असार । पोखरा महानगरपालिका -१४ मा स्वच्छ दुध उत्पादनको लागि ब्याबसायिक गाईभैंसी पालन ब्यबसाय शुरु भएको छ।  पोखरा महानगरपालिकाको वडा न.  १४ का करिब आठ सय महिलाहरु सदस्य रहेको समग्र महिला बहुउद्धेश्यिय सहकारी संस्थाले ग्रामिण उधम तथा आर्थिक विकास आयोजना अर्थात रुरल इन्टरप्राइजेज एण्ड इकोनोमिक डेभलप्मेन्ट “रिड” प्रोजेक्टसंग  मिलेर स्वच्छ दुध उत्पादनको लागि ब्याबसायिक गाईभैंसी पालन उपआयोजना संचालनमा ल्याएको हो।

समग्र सहकारीले करिब दुई बर्ष अगाडीबाट नै स्वच्छ तथा गुणस्तरीय दुध उत्पादनको लागि गाईभैंसी पालन ब्यबसाय शुरु गरेको भएपनि अघिल्लो बर्षबाट रिड प्रोजेक्टसंग मिलेर स्वच्छ दुध उत्पादनको लागि ब्याबसायिक गाईभैंसी पालन उपआयोजना संचालनमा ल्याएको हो। हाल त्यहा ब्याबसायिक रुपमा पालिएका गाईभैंसीबाट दैनिक करिब दुई सय लिटर दुध उत्पादन हुने गरेको र उक्त दुध सोहि सहकारी संस्थाका सदस्यहरुले नै खरिद गर्ने गरेको बुझिएको छ।

समग्र महिला सहकारी संस्थाले शुरु गरेको ब्यबसाय भएपनि ग्रामिण उधम तथा आर्थिक विकास आयोजनासंग जोडिएपछि भने संस्थाले अनुदान समेत प्राप्त गर्ने ब्यबस्था छ। जस अनुसार संस्थाले ब्याबसायिक रुपमा गाईभैंसी पालन गर्नको लागि आबश्यक पर्ने गोठ, कम्पोस्ट पिट, युरिन पिट र आहार भण्डार लगायतका पुर्वाधार निर्माण गर्न, गाई भैंसी खरिद गर्न र ब्यबसायको लागि आबश्यक पर्ने विभिन्न मेसिनरी, उपकरण र औजारहरु खरिद गर्दा  एबम अन्य बिभिन्न काम गर्दा लाग्ने कुल खर्चको ५० प्रतिशत रकम उपआयोजनाबाट अनुदान स्वरूप उपलब्ध गराउने ब्यबस्था रहेको छ।

हाल समग्र महिला बहुउद्धेश्यिय सहकारी संस्थाले गाईभैंसीको ब्याबसायिक पालनको लागि ९६ लाख २३ हजार ४ सय ८० रुपैया खर्च गरिसकेकोले त्यसको ५० प्रतिशत अर्थात ४८ लाख ११ हजार ७ सय ४० रुपैया रिडबाट अनुदान प्राप्त हुने प्रक्रियामा रहेको छ। सोहि अनुरुप पहिलो किस्ता बापत करिब १८ लाख भने प्राप्त भएको सहकारी संस्थाकी अध्यक्ष सबिना अधिकारीले जानकारी दिईन्।

स्वच्छ र गुणस्तरीय दुध उत्पादनका लागि संचालन गरिएको गाईभैंसी पालन उपआयोजनाको बारेमा संस्थाका सदस्यहरु सहित सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले समग्र सहकारीले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सहयोगमा आयोजना गरेको अन्तिम सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सबिना अधिकारीले संस्थाले अनुदान प्राप्त गर्ने अबस्थासम्म आइपुग्न प्रक्रियागत रुपमा निकै झन्झट व्यहोर्नुपरेको उल्लेख गरिन। “अब भने यो ब्यबसायलाई कसरि निरन्तरता दिने र महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने भन्नेमा हामीहरु गम्भीर छौं” उनले भनिन्।

कार्यक्रमका पोखरा महानगरपालिका -१४ का वडाध्यक्ष बोधराज कार्कीले सहकारीका सदस्यहरुले साथ दिएमा यो ब्यबसाय दिगो बन्न सक्ने भन्दै वडा न. १४ मा दुई ठाउँमा कृषि सेवा केन्द्र स्थापना गर्ने र स्थानीय कृषि उत्पादनको बिक्रि वितरण गरेर स्थानीय स्तरमा कृषिलाई ब्याबसयिकरण गर्ने सोचाईमा आँफु रहेको बताए। उनले समग्र सहकारीले संचालन गरेको गाई भैंसी पालन ब्यबसायलाई सफल र प्रभावकारी बनाउन सके आर्थिक रुपमा वडाका महिलाहरु पनि आत्मनिर्भर बन्न सक्ने बिश्वास समेत ब्यक्त गरे ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपक बाँस्तोलाले समग्र सहकारीले धेरै दुध उत्पादन गर्न सकेमा कास्की जिल्ल्ला सहकारी संघले समेत दुध खरिद गर्न सक्ने भन्दै नेपालमा भारतीय दुध भित्रिन नदिन पनि गाई भैंसी पाल्ने काम ब्याबसायिक रुपमा गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपसभापति एबम नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्ब अध्यक्ष गंगाधर पराजुलीले महिलाहरुले संचालन गरेका संस्थाहरु तुलनात्मक रुपमा पुरुषले संचालन गरेको भन्दा आर्थिक रुपमा पारदर्शी र मितव्ययी हुने गरेको चर्चा गर्दै स्थानीय महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन, ब्याबसायिक गतिविधिमा उत्प्रेरित गर्न र आफ्नो भान्सामा गुणस्तरीय दुध भित्र्याउन गाई भैंसी पालन ब्यबसाय उपयोगी हुने बिश्वास ब्यक्त गरे। उनले सरकारी निकायसंगको सहकार्यमा प्रक्रियागत झन्झटिलो भएपनि प्रतिफल राम्रो आउने कुरा स्पष्ट पारे।

कार्यक्रममा बोल्दै ग्रामिण उधम तथा आर्थिक विकास आयोजना, कृषि तथा पशुपन्क्षी मन्त्रालयका कृषि अधिकृत अस्मिता नेउपानेले ब्याबसायिक रुपमा गाईभैंसी पालन गर्ने काम चुनौतीपूर्ण रहेपनि समग्र महिला सहकारीले चुनौतीका पहाड पार गरेर प्रतिफल लिने अबस्थामा आउन लागेको भन्दै खुशी प्रकट गरिन्।

कार्यक्रममा नेपाली काँग्रेस वडा कार्यसमितिका सभापति दिवस कुँवर, समग्र महिला सहकारीका कानुनी सल्लाहकार बोधराज बराल, संस्थाका उपाध्यक्ष कल्पना भण्डारी र ब्यबस्थापक धर्मराज केसीले गाईभैंसी पालन ब्यबसायको शुरुवात देखि भोग्नुपरेका समस्या र अन्य संस्थासंगको सहकार्यका कारण हुने सहजताका बारेमा चर्चा गरेका थिए। कार्यक्रमको संचालन संस्थाकी सचिब इन्दु अधिकारीले गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0