
त्रिवेणी (नवलपरासी), २९ जेठ । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उहाँ खिन्न हुनुहुन्छ ।
गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्विन्टल धान बेच्नुभएको थियो । बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु भएका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउनुहुन्छ । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो ।
उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उहाँले बताउनुभयो । गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताउनुभयो । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उहाँको दुखेसो छ ।
सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताउनुभयो । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उहाँले बताउनुभयो । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























