
पोखरा, २५ असाेज। वडा प्रहरी कार्यालय बगरअन्तर्गत पोखरा-१, सिमपानीस्थित जौबारीमा नवनिर्मित प्रहरी बिटको पक्की भवन समुद्घाटन तथा हस्तान्तरण गरिएको छ। घटस्थापनाको अवसरमा असोज २५ गते आयोजित विशेष समारोहका बीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण सम्पन्न भएको हो।
Gen-Z प्रदर्शनका क्रममा तत्कालीन संरचनामा क्षति पुगेको र सडक विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने आवश्यकता अनुसार स्थानीय समुदायको सक्रियतामा यो पक्की भवन निर्माण गरिएको हो। गत माघ २३ गते शिलान्यास भई सुरु भएको निर्माण कार्य सम्पन्न भएसँगै उक्त भवनबाट प्रहरी सेवा नियमित रूपमा सञ्चालन भइसकेको छ।

नागरिक र प्रहरीको सम्बन्ध बलियो हुनुपर्छ: प्रहरी उपरीक्षक कार्की
कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीले चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिकको साथ र सहयोगकै कारण प्रहरी पुनः उभिन सफल भएको बताउनुभयो। प्रदर्शनका क्रममा उच्छृङ्खल तत्वहरूले क्षति पुर्याए पनि स्थानीयको सहकार्यले सुरक्षा व्यवस्था थप सुदृढ बनेको उहाँको भनाइ थियो। उहाँले प्रहरी कर्मचारीहरूलाई असल नागरिकको सम्मान गर्न र आपराधिक मानसिकता भएकाहरूका लागि कडाइका साथ पेस हुन निर्देशन दिनुभयो।
पारदर्शी आर्थिक विवरण र जनश्रमदानको उदाहरण
कार्यक्रममा जौबारी प्रहरी बिट निर्माण समितिका संयोजक इन्जिनियर प्रविण सुवेदीले स्थानीयको आर्थिक, भौतिक तथा श्रमदानका कारण भवन निर्माण सफल भएको बताउनुभयो। बिटको स्थापनाले यस क्षेत्रमा सुरक्षाको अनुभूति गराउनुका साथै समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
भवन निर्माणको आय-व्यय विवरण प्रस्तुत गर्दै समितिकी कोषाध्यक्ष राधा बराल (अधिकारी) ले कुल १६ लाख ७३ हजार ३२८ रुपैयाँ आम्दानी भएकोमा १५ लाख ९५ हजार ७१५ रुपैयाँ खर्च भई ७७ हजार ६१३ रुपैयाँ बचत भएको जानकारी दिनुभयो।
स्थानीय प्रतिनिधिहरूको ऐक्यबद्धता
कार्यक्रममा पोखरा वडा नं. १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले युवाहरूको नेतृत्व र नागरिकको सहयोगबाटै समाज सुरक्षाको जग बलियो हुने बताउँदै प्रहरीको साथमा सधैँ समुदाय रहने प्रतिबद्धता जनाउनुभयो।
समारोहमा वडा नं. २ का अध्यक्ष सहारा प्रधान, वडा नं. १ का सदस्य रामजीप्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष कृष्णबहादुर तामाङ, संस्थापक अध्यक्ष सीता गुरुङलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जाैबारी प्रहरी बिट निर्माणमा सहयाेग गर्ने विभिन्न संघ, संस्था र सहयाेगदाताहरूलाई प्रमुख अतिथि प्रहरी उपरीक्षक नवीन कार्कीले सम्मान गर्नुभएकाे थियाे ।

कार्यक्रमको सुरुवातमा वडा प्रहरी कार्यालय बगरका प्रमुख, प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्दै भवन निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्नुभयो।
प्रहरी बिट निर्माण समितिका संयोजक इन्जिनियर प्रविण सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रम निर्माण सिमितका सचिव मिलन शमसेर राणाले संचालन गर्नुभएकाे थियाे ।



























