Home headline main बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रको अनिर्वायता सर्वोच्चद्वारा बदर: अब नागरिकताकै आधारमा सेवा पाइने

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रको अनिर्वायता सर्वोच्चद्वारा बदर: अब नागरिकताकै आधारमा सेवा पाइने

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रको अनिर्वायता सर्वोच्चद्वारा बदर: अब नागरिकताकै आधारमा सेवा पाइने

काठमाडौं, २४ असाेज। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, ग्राहक पहिचान (KYC) अद्यावधिक तथा मोबाइल नम्बर परिवर्तन जस्ता बैंकिङ सेवा उपभोग गर्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य गर्ने व्यवस्थालाई बदर गरिदिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ (इ.प्रा. निर्देशन नं. १९/०८२) को उक्त बाध्यकारी व्यवस्थालाई उत्प्रेषणको आदेशमार्फत खारेज गरेको हो।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर (NIN) लाई नागरिक पहिचानको ‘एकमात्र आधार’ बनाएको थियो।

अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नभएसम्मका लागि नागरिकता प्रमाणपत्र लगायतका अन्य पहिचानका कागजातहरूको आधारमा बैंकिङ सेवा प्रवाह गर्न विपक्षीहरूका नाममा परमादेशको आदेशसमेत जारी गरेको छ।

लाखौँ सर्वसाधारणलाई राहत

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ बस्ने अधिवक्ता सरिता अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन्।

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा देशभरका लाखौँ सर्वसाधारण, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा प्रविधिको पहुँच नभएका नागरिकहरू आफ्नै बैंक खाता सञ्चालन र वित्तीय सेवा उपभोग गर्नबाट बञ्चित हुनुपरेको रिटमा उल्लेख थियो।

सर्वोच्चको यो आदेशसँगै अब राष्ट्रिय परिचयपत्र नभएका नागरिकहरूले पनि नागरिकता वा अन्य पहिचानका कागजातका आधारमा सहज रूपमा बैंकिङ सेवा उपभोग गर्न पाउने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here