पोखरा, २३ असाेज । पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारी साधनको नियमित प्राविधिक जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।

पोखरा–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्लेको भिरबाट खसेर दुर्घटना भएको थियो। बसमा विद्यार्थी, चालक, सहचालक र लिफ्ट मागेका अभिभावकसहित कुल २२ जना सवार रहेकोमा ५ जनाको निधन भएको छ भने बाँकी घाइते भएका छन्। घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज (GMC) मा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0