
धनगढी, १३ असोज। धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उहाँले फूलखेती सुरुआत गर्नुभएको हो । न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आउनुभएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आउनुभएको छ ।
रु पाँच लाख लगानीबाट सुरु गर्नुभएकी सुशीलाको फूलखेती व्यवसायमा अहिले रु ५० लाख लगानी पुगेको छ । दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आउनुभएकी सुशीलाले वार्षिक रुपमा रु ५० लाखको कारोबार गर्दै आएको जानकारी दिनुभयो । फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयलाई समेत रोजगार दिनुभएको छ । मासिक रुपमा उनीहरुलाई रु एक लाख ८० हजार उनीहरुको तलबमा खर्च हुने गरेको छ ।
जसबाट सबै खर्च कटाएर वार्षिक रु २० लाख बचत हुने गरेको उहाँको भनाइ छ । “दश जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु”, उहाँले भन्नुभयो, “फूलखेतीबाट आम्दानी राम्रो हुँन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु ।” प्रतिकिलोग्राम रु चार सयमा फूल बिक्री गर्दे आउनुभएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएको बताउनुभयो । उहाँले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गर्नुभएको छ ।
उहाँले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आउनुभएको छ । सुशीलाको फूलखेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन । उहाँले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताउनुभयो ।
पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ । उहाँले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभकार्यमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । उहाँले सुरु गर्नुभएको फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























