
गुल्मी, १२ असोज। एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तेस्रो मुख्य सडकको रुपमा रहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।
उक्त करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो गएको र सडक भासिएकोले यातायात सञ्चालनमा कठिनाइ भएको छ । अवरुद्ध सडक खुलाउनका लागिउक्त क्षेत्रमा स्काभेटर परिचालन गरिएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भिमकिरण बोगटीले जानकारी दिनुभएको छ ।
त्यसैगरी रुद्रवेणी–वामीटक्सार सडकखण्ड गत चार दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । वर्षा रोकिएपछि यातायात सञ्चालन गर्नका लागि स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ ।
त्यसैगरी जिल्लाको इन्द्रेगौँडा‐रातडाँडा‐तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत मुसिकोट नगरपालिका‐३ स्थित ताउखोलामा सडक माथिबाट पहिरो खसेपछि आईतबारदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । वर्षाका कारण जिल्लाका अधिकांस ग्रामिण सडकहरु अवरुद्ध हुँदा यातायात सेवा प्रवावित बनेका छन् । जिल्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावत, दैनिक प्रशासनिक काम तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ ।
स्थानीय पालिकाहरुले अवरुद्ध सडक खुलाउन सुरु गरिसकेका छन् । मङ्गलबारसम्ममा जिल्लाका अधिकांश अवरुद्ध सडक सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले भारी वर्षा र बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै शुक्रबारदेखि जिल्लाभर सञ्चालनमा रोक लागाइएको सवारी आवागमनसमेत आजदेखि खुला गरेको छ । बाढीपहिरोबाट जिल्लाभर २४१ घरधुरी जोखिममा परेको छन् भने करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























