हेलसिन्की, २५ भदौ । निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले यही महिना हुने विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न विश्वभर रहेका युद्धविरोधी रुसी नागरिकलाई आह्वान गर्नुभएको छ ।

सेप्टेम्बर २० को दिउँसो मतदान केन्द्रमा पुगेर सत्तारूढ दलविरुद्ध मतदान गर्न आग्रह गर्दै उहाँले युद्धको विरोध जनाउन सामूहिक मतदान अभियान सञ्चालन गरिएको बताउनुभयो । युद्धविरोधी रुसी नागरिक एकै समयमा मतदान केन्द्रमा पुगेर लामबद्ध भए आफूहरू कति सङ्ख्यामा छन् भन्ने विश्वले देख्न सक्ने उहाँको भनाइ छ ।

निर्वाचनको नतिजामा भने कुनै शङ्का नरहेको उहाँले बताउनुभयो । रुसको निर्वाचन प्रक्रिया कडा नियन्त्रणमा रहेको र विगतका निर्वाचनमा धाँधली, दबाब तथा विपक्षी गतिविधिमाथि प्रतिबन्ध लगाइएको आरोप लाग्दै आएको छ । युक्रेनमाथि रुसको आक्रमणपछि पुटिनका आलोचक र राजनीतिक प्रतिद्वन्द्वीमाथिको दमन झन् बढेको छ ।

गत महिना रुसी सर्वोच्च अदालतले युद्धविरोधी दल याब्लोकोलाई समेत निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो । त्यसैले आफूहरूले यसलाई वास्तविक निर्वाचनका रूपमा नलिएको याशिनले बताउनुभयो । बर्लिनमा गत जुनमा स्थापना भएको ‘पिसफुल रसिया’ पार्टीका नेता याशिनले युक्रेनमाथिको आक्रमण अन्त्य गर्न र नागरिक अधिकारको पक्षमा विभिन्न विपक्षी समूहलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताउनुभयो ।

पार्टी निर्वाचनमा प्रत्यक्ष सहभागी नभए पनि युद्ध र पुटिनको शासनप्रतिको असन्तुष्टि व्यक्त गर्ने अवसर अभियानले दिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0