
पोखरा, ५ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशनका लागि वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा समूहगत उम्मेदवारी घोषणा गरिएको छ।
आगामी भदौ २० र २१ गते आयोजना हुने संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनलाई लक्षित गरी बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘समावेशी टिम, जुझारु नेतृत्व-सबल संघ, समृद्ध पोखरा’ भन्ने नाराका साथ प्यानल सार्वजनिक गरिएको हो।
निजी क्षेत्रको अधिकार, व्यवसायीको हकहित र पोखराको समग्र आर्थिक समृद्धिका लागि उम्मेदवारी दिइएको सो अवसरमा जानकारी गराइयो।
गौतम प्यानलका उम्मेदवारहरू:
- अध्यक्ष: शोभा गौतम
- वरिष्ठ उपाध्यक्ष: टीकाराम सुवेदी
- उद्योग उपाध्यक्ष: सौगात थापा
- वाणिज्य उपाध्यक्ष: भीम गौतम
- महासचिव: तारानाथ ढुङ्गाना
- कोषाध्यक्ष: जीवनप्रकाश श्रेष्ठ
- उपमहासचिव: यादव पोखरेल
मुख्य प्राथमिकताहरू:
- व्यवसायीका समस्या र पैरवी: साना, मझौला तथा ठूला व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र निजी क्षेत्रको सम्मान, सुरक्षा तथा व्यावसायिक अधिकारका लागि सशक्त पैरवी गर्ने।
- स्थानीय उत्पादन र प्रवर्द्धन: स्थानीय उत्पादन, उद्यम र बजारलाई प्राथमिकता दिँदै युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने।
- लगानीमैत्री वातावरण: लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायहरूसँग प्रभावकारी सहकार्य गर्ने।
- पर्यटन र संस्थागत सुधार: पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग-व्यवसायसँग जोड्ने र संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी तथा प्रभावकारी संस्थाका रूपमा विकास गर्ने।
उद्योग, व्यापार, पर्यटन, महिला उद्यमी र युवा व्यवसायीको प्रतिनिधित्व समेटेर चुनावी मैदानमा उत्रिएको यस टिमले संघलाई नयाँ गति र दिशा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























