पोखरा, ३१ साउन । अविरल वर्षाका कारण कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ स्थित बिरेठाँटी क्षेत्रमा मोदी खोलामा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएपछि तमु धीं नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ।

तमु धीं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङ, कास्की जिल्ला समिति अध्यक्ष प्रेमबहादुर गुरुङ र अन्नपूर्ण गाउँपालिका समिति अध्यक्ष श्याम गुरुङद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा बाढीका कारण अन्नपूर्ण गाउँपालिकाका वडा नं. ८, ९, १० र ११ का साथै पर्वत, म्याग्दी र मुस्ताङ जोड्ने मुख्य सडक र विद्युत आपूर्ति पूर्ण रूपमा ठप्प भएको जनाइएको छ।

बाढीले पर्यटकीय तथा ऐतिहासिक बस्तीहरू बिरेठाँटी, चिम्रोङ, स्याउली बजार, साँधीखोला, दाङसिङ (तहुँसी), मोहोरिया, गैरीबाङ, साक्यु, तिखेढुङ्गा, सुदामे, साबित, मौजा, उल्लेरी, घान्द्रुक, चानै, घान्द्रुक बेसी, क्लिउँ, त्हाम्ले, सिवई, फुलीबाङ, कोल्टेभट्टी, उरी, मेलाचे, किम्रङ खोला, घुर्जङ, झिनुडाँडा, छोम्रोङ, टाडापानी, बनढाँटी, देउराली, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प तथा म्याग्दीको पुनहिल लगायतका क्षेत्रहरू नराम्ररी प्रभावित भएका छन्।

बाढीका कारण स्थानीय घर, होटल, बस्ती, सडक र पूर्वाधारमा व्यापक क्षति पुगेकाले पर्यटकीय व्यवसाय र जनजीवनमा दीर्घकालीन असर पर्ने भन्दै तमु धीं नेपालले तीनै तहका सरकार (नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार) र जनप्रतिनिधिहरूलाई तत्काल अभिभावकत्व ग्रहण गरी उद्धार, राहत तथा सडक-विद्युत पुनरुत्थानमा जुट्न जोडदार माग गरेको छ।

साथै, अझै पनि वर्षा जारी रहेकाले थप जोखिमबाट बच्न प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सजगता अपनाउन र धैर्य धारण गर्न आग्रह गरिएको छ। संस्थाले बाढी विपत्को यस घडीमा देशभित्र तथा विदेशमा रहेका शुभेच्छुकहरू, संघ-संस्थाहरू र स्थानीयवासीलाई सहयोगका लागि अगाडि बढ्न आह्वान गरेको छ।

विपत्को सुरुवातमा स्थानीय सरकार, वडा जनप्रतिनिधिहरू र कास्की जिल्ला प्रशासन कार्यालयले मानवीय उद्धारमा खेलेको भूमिकाप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0