झापा, ९ वैशाख । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ ।

‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो ।

उद्योगको १२ घण्टामा ७० हजार किलोग्रामसम्म ‘पेलेट ऊर्जा’ उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उद्योगका सञ्चालक आदित्य पराजुलीले यहाँबाट उत्पादित पेलेटलाई झापामा मात्र नभएर नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतमा समेत निर्यात गरिने बताउनुभयो ।

चिया, सिमेन्ट, इँटा, फलामलगायतका उद्योगहरूलाई सस्तो र वातावरणमैत्री इन्धनका रूपमा ‘पेलेट ऊर्जा’को प्रयोग बढिरहेको हुँदा उद्योगले खेर जाने कमल भेनियर सिट, उखुको खोस्टा, सुकेका पातपतिङ्गर, बाँसका चोइटा र काठका टुक्रालाई अत्याधुनिक प्रविधिबाट मेसिनमा प्रशोधन गरी दानेदार ऊर्जा तयार गरिने सञ्चालक पराजुलीले जानकारीदिनुभयो ।

पेलेटले पत्थर कोइलाको आयातलाई प्रतिस्थापन गरेर मुलुकलाई इन्धनमा आत्मनिर्भर बन्न योगदान पुर्याउने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0