बेरुत, ४ वैशाख । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको छ, तर जमिनमा जारी झडप, अस्पष्ट सर्तहरू र आपसी अविश्वासले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धविरामको घोषणा गर्नुभएको हो । यद्यपि इजरायल प्रत्यक्ष रूपमा लेबनान सरकारसँग भन्दा पनि त्यहाँ सक्रिय इरानी समर्थित हिजबुल्लाह लडाकू समूहसँग युद्धरत रहेको तथ्यले सम्झौताको प्रभावकारितामाथि शङ्का उत्पन्न गरेको छ, किनकि उक्त समूह औपचारिक रूपमा सम्झौतामा समावेश छैन ।

युद्धविराम सुरु भएसँगै बेरुतका विभिन्न स्थानमा बासिन्दाहरूले हर्ष प्रकट गर्दै हावामा गोली चलाएका थिए । तर यही बीचमा केही क्षेत्रमा गोलीबारी र आक्रमणका घटनाहरू जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी लेबनानका खियाम र डिब्बाइन गाउँमा युद्धविराम लागू भएको आधा घण्टापछि पनि इजरायली गोलाबारी भएको रिपोर्ट सार्वजनिक भएको छ ।

युद्धका कारण विस्थापित भएका लाखौँ मानिसहरू घर फर्कने प्रयासमा लागे पनि अधिकारीहरूले अवस्था पूर्ण रूपमा सुरक्षित नभएसम्म प्रतीक्षा गर्न आग्रह गरेका छन् । करिब १० लाख मानिस अझै विस्थापित अवस्थामा छन् र उनीहरूको सुरक्षित फिर्ती कहिले सम्भव हुन्छ भन्ने स्पष्ट छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति प्रयासलाई अगाडि बढाउन युद्धविराम स्वीकार गरिएको बताउनुभएको छ, तर इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता नहुने स्पष्ट पार्नुभयो । उहाँका अनुसार इजरायलले १० किलोमिटर क्षेत्रसम्म ‘सुरक्षा क्षेत्र’ विस्तार गरेको छ र त्यहाँबाट पछि हट्ने योजना छैन ।

यसैबीच हिजबुल्लाहले आफ्नो भूमिमा रहेको इजरायली उपस्थितिलाई कब्जाको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध प्रतिरोध गर्ने अधिकार कायम रहेको जनाएको छ । समूहले भविष्यको कदम परिस्थितिअनुसार निर्धारण गरिने सङ्केत दिएको छ, जसले युद्धविरामलाई थप जटिल बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0