पोखरा, १५ चैत । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीप्रति घोर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले ओली र लेखकलाई ‘अमानवीय र गैरकानुनी’ ढंगले पक्राउ गरेको भन्दै एमाले कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको हो।

विरोध पत्रका मुख्य बुँदाहरू:

  • प्रतिशोधपूर्ण गिरफ्तारी: सरकार गठन भएको केही घण्टा नबित्दै राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको एमालेको ठहर छ। यसलाई पार्टीले ‘अलोकतान्त्रिक र असंवैधानिक’ कदम भनेको छ।

  • छानबिन आयोगप्रति असहमति: २०८२ भदौ २३ र २४ को घटना छानबिनका लागि गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगप्रति एमालेले सुरुदेखि नै विमति जनाउँदै आएको छ। कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै एमालेले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

  • आन्दोलनको चेतावनी: पक्राउ परेका नेताहरूलाई सम्मानपूर्वक तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी एमाले कास्कीले दिएको छ।

एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “हाम्रा अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकमाथि गरिएको नियोजित र गैरकानुनी गिरफ्तारीको निन्दा गर्दै सम्मानजनक रिहाइको माग गर्दछौँ।”

एमालेले कानुनी शासन र मानव अधिकारको रक्षाका लागि सरकारलाई सचेत गराउँदै अन्यथा परिस्थितिको सामना गर्न सरकार तयार रहनुपर्ने उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0