
पोखरा, १४ चैत । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीलाई शनिबार बिदाई गरिएको छ । साथै आगामी समयका लागि शैक्षिक सफलताकाे शुभकामना व्यक्त गरिएकाे छ ।
समारोहका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले हरेक वर्ष झैं कक्षा ११ का विद्यार्थीको आयोजनामा हुने बिदाई समारोह यसपटक पनि उनीहरुको आयोजनमा भएको बताउनु भयाे ।
यो एउटा कल्चर पनि हो । ठूलाले सानालाई र सानाले ठूलालाई सम्मान गर्ने । यस्तो संस्कार सानैदेखि विद्यार्थीमा दिन सकियो भने जीवनभर कामयावी हुने उहाँले बताउनु भयाे ।
अध्यक्ष पालिखेले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई आफ्नो जीवनको अभिन्न अंग बनाउन आग्रह गर्नुभयाे । विद्यालयले विद्यार्थीको उज्ज्वल भविष्यका लागि अतिरिक्त कक्षा र विशेष सहयोगको योजना बनाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वैशाखमा हुने परीक्षाका लागि विद्यालयले अझै दुई महिना विशेष तयारी कक्षाहरू सञ्चालन गर्नेछ। हामी हाम्रा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएको हेर्न चाहन्छौँ।”
उच्च शिक्षा र छात्रवृत्तिको अवसर
अध्यक्ष पालिखेले विद्यालयबाट उत्तीर्ण भई जाने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विभिन्न अवसरहरू रहेको समेत उल्लेख गर्नुभयो। उहाँले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (NTHMC) सँगको सहकार्यमा कुमुदिनीका उत्कृष्ट विद्यार्थीहरूलाई BHM, BBA र BBA Finance जस्ता विषयहरूमा विशेष छात्रवृत्तिको व्यवस्था गरिएको घोषणा गर्नुभयो। “अहिलेको समयमा डाक्टर र इन्जिनियर जत्तिकै व्यवस्थापन (Management) क्षेत्रको पनि ठूलो महत्व छ,” उहाँले थप्नुभयो।
कुमुदिनीका ‘राजदूत’ विद्यार्थी
विद्यार्थीहरूलाई विद्यालयको ‘एम्बेसेडर’ (राजदूत) को संज्ञा दिँदै उहाँले जहाँ गए पनि विद्यालयको संस्कार र सिकाइलाई कायम राख्न सुझाव दिनुभयो। उहाँले विगतमा विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूले राष्ट्रिय स्तरमा हासिल गरेका उपलब्धिहरूको स्मरण गर्दै आगामी ब्याचबाट पनि सोही अपेक्षा राख्नुभयो।
अनुशासन नै सफलताको कडी
शिक्षकहरूले कहिलेकाहीँ गर्ने कडाइ विद्यार्थीहरूकै हितका लागि भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “कुनै सरले गाली गर्नुभयो वा कडाइ गर्नुभयो भने त्यो व्यक्तिगत रिसले नभई तपाईँहरूको भविष्य सुधार्नका लागि हो भन्ने बुझ्नुपर्छ।”
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले आफ्ना अग्रजहरूलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए भने अध्यक्ष पालिखेले नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा गणित शिक्षक मन बहादुर भुजेल, सहप्राचार्य मुशेक कुमार अधिकारी, निर्देशक कुशल पालिखे, मीना पालिखे विभागीय शिक्षकहरु र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

























