पोखरा, ११ चैत । कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित पानी उत्पादनमा समस्या पैदा भएको छ । यसका कारण उद्योगहरुको उत्पादन ठप्प हुने स्थित उत्पन्न हुन लागेको बताइएको छ ।

प्रशोधित पानी उद्योग व्यवसायी संघ, कास्कीमा आवद्ध भएका व्यवसायीहरुको पूर्ण भेलाले बुधबार न्यूरोडस्थित हाम्रो चूलो घरमा बसेको संस्थाका अध्यक्ष प्रेम बहादुर क्षेत्रीको अध्यक्षता भएको भेलाले सो कुराको निर्णय भएको जनाएको हो ।

बैठकमा पानी उद्योगीहरूले भोग्नुपरेका वर्तमान समस्या र आगामी कार्यदिशाका बारेमा गम्भीर छलफल भएको सचिव कविन्द्र कोइरालाले जानकारी दिनुभयो ।

मिडिल इष्टमा चलेको युद्धको कारण पानी प्रशोधनका लागि चाहिने कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण खानेपानी उत्पादनमा समस्या उत्पन्न भएको र यस्तो असहज परिस्थितमा व्यवसायीहरू लाई संयमित भएर रहन आग्रह समेत गरिएको छ । भेलाले गरेको निर्णयमा लेखिएको छ, मूल्यमा भएको वृद्धि र कच्चा पदार्थको आपूर्तिमा आएको गिरावटले प्रशोधित खानेपानी उद्योगहरू सङ्कटमा परेका छन्।

बैठकले वर्तमान जटिल परिस्थितिका कारण लामो समयसम्म उत्पादन कार्य कायम राख्न कठिनाई हुन सक्ने निष्कर्ष निकालेको छ। खानेपानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू जस्तै: बिर्को, बोतल, जार ,सृन्क रोलआदि पेट्रोलियम पदार्थसँग प्रत्यक्ष सम्बन्धित रहने र तिनको आपूर्तिमा कमी तथा मूल्यवृद्धि भएकाले उत्पादन र प्रशोधनमा गम्भीर समस्या देखिएको छ ।

परिस्थिति जटिल बन्दै गएकाले सम्पूर्ण उद्योगीहरूलाई संयमता अपनाउन, आपसी मेलमिलाप र मैत्रीपूर्ण वातावरण कायम गर्न आग्रह गरिएको छ। राज्यले तोकेकै मूल्यमा रहेर सम्भव भएसम्म उत्पादन र वितरण कार्य जारी राख्ने र बजारमा खानेपानीको अभाव सिर्जना हुन नदिने सर्वसम्मत निर्णय र प्रतिवद्धता समेत जनाएका छन्।

भेलाले आगामी दिनमा परिस्थितलाई मूल्याँकन गर्दै व्यवसायको प्रवर्धन र व्यवसायीको हितका लागि सरसल्लाह गर्दै अगाडी बढ्ने जानकारी गराएको छ । भेलाको सञ्चालन सचिव कविन्द्र कोइरालाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0