पोखरा, ७ चैत । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पाेखरामा कथाकार महेश्वर पन्तद्वारा लिखित कथा सङ्ग्रह ‘धर्तीमुनिका तारा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा समीक्षक रिता अधिकारी ऋतुले उक्त कृतिमाथि आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यसलाई डायस्पोरिक आत्म-अन्वेषणको एउटा महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्नुभयो।

डायस्पोरिक पीडा र पहिचानको खोजी

समीक्षक ऋतुका अनुसार, ‘धर्तीमुनिका तारा’ मा पराई भूमिमा रहेका नेपालीहरूले भोग्नुपरेको पहिचानको संकट, सांस्कृतिक द्वन्द्व र आन्तरिक छटपटीलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ। उहाँले भन्नुभयो, “यो सङ्ग्रहका पात्रहरू न पूर्ण रूपमा पुरानो देशका हुन सकेका छन्, न त नयाँ देशमा पूरै समाहित हुन सकेका छन्। उनीहरू सधैँ ‘म को हुँ?’ भन्ने प्रश्नको घेराभित्र हराइरहेका देखिन्छन्।”

कृतिका मुख्य विशेषताहरू

प्रस्तुत समीक्षाका आधारमा कृतिका केही सबल पक्षहरू यस प्रकार छन्:

  • सत्यपरक चित्रण: कथाकारले अमेरिकी समाजमा प्रवासीले भोग्नुपर्ने आर्थिक समस्या, नस्लवादी विभेद, भिसा तथा कानुनी झमेला र श्रम शोषणलाई यथार्थपरक ढङ्गले उतारेका छन्।
  • प्रतीकात्मक अर्थ: ‘धर्तीमुनिका तारा’ शीर्षक आफैँमा गहिरो विम्ब हो। यसले विदेशमा चम्किने आशा बोकेर गएका तर त्यहाँको भिड र बाध्यतामा दबिएका नेपालीहरूको अदृश्य पीडालाई संकेत गर्दछ।
  • सांस्कृतिक नोस्टाल्जिया: कथाहरूमा गुन्यूचोली, दौरा सुरुवाल, मस्यौरा, गुन्द्रुक र दशैँको टीका जस्ता प्रसङ्गहरूले प्रवासी नेपालीहरूको आफ्नो मुलुकप्रतिको प्रगाढ माया र ‘नोस्टाल्जिया’ लाई जीवन्त बनाएको छ।
  • तटस्थ लेखन: कथाकार पन्तले डायस्पोरालाई न त अस्वभाविक रूपमा महिमामण्डन गरेका छन्, न त पूर्ण नकारात्मक रूपमा चित्रण गरेका छन्। उनले जीवनको उज्यालो र अँध्यारो दुवै पाटोलाई सन्तुलित रूपमा प्रस्तुत गरेका छन्।

निष्कर्ष

समीक्षक ऋतुले कृतिको भाषा सरल र सहज रहेको तथा यसले डायस्पोरिक भूगोलमा भड्किरहेका आत्माहरूको खोजी गरेको बताउनुभयो। केही सीमितताका बावजुद ‘धर्तीमुनिका तारा’ एक पठनीय कृति बनेको निष्कर्ष निकाल्दै उहाँले लेखकलाई शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले प्रवासमा रहेका नेपालीकाे नेपाली साहित्यका लागि दिएकाे याेगदान अतुलनिय भएकाे बताउनु भयाे । उहाँले प्रवासमा रहेका साहित्यकारहरुले नेपाल र नेपालीकाे अनुभूति र मनाेभावनालाई लेखिहाल्छन् किनभने त्यहाँ देशकाे सम्झना र अभाव धेरै हुन्छ । तर यहाँभन्दा त्यहाँ के छ ? खाेज र लेखनमा ल्याउनु पर्ने बताउनु भयाे । उहाँले विविध कारणले विदेशीएका नेपालीहरुका दाेश्राे तथा तेश्राे पुस्ता पछिकाले नेपालप्रतिकाे माेह छाेड्न सक्ने र कुनै जमानामा हाम्रा पुर्खाकाे देश नेपाल हाे भनेर भन्ने दिन आउन नदिनका लागि के गर्न सकिन्छ साेच्ने बेला भएकाे बताउनु भयाे ।

साे अवसरमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के‍सी, अनेसास गण्डकीका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, प्रा. डा कुशुमाकर न्याैपाने लगायतले साहित्यकार पन्तकाे कथा सँग्रह धर्तिमुनिका तारा एक पटक पढ्नै पर्ने पुस्तक भएकाे बताउनु भयाे । साे अवसरमा केसी र असफल गाैतमले श्रष्टा पन्तलाई सम्मान गर्नु भएकाे थियाे ।

यस्ताे छ पन्तकाे भनाई

अमेरिकामा ३६ वर्ष बिताउनु भएका लेखक पन्तले आफ्नो सिर्जनामा सधैँ नेपाल र नेपालीपनलाई नै प्राथमिकता दिएको बताउनु भयाे । उहाँले आफ्नो मौलिकता र लोक संस्कृतिप्रतिको लगावका कारण बाहिरको परिवेशमा भन्दा नेपाली माटोमै आधारित रहेर लेख्न उत्प्रेरित भएकाे बताउनु भयाे ।

उहाँले वर्षाैँदेखि नेपालीहरु विवध कारणले विदेशीने क्रम नराेकिएकाे प्रसँग अहिले पनि उस्तै रहेकाे बताउदै कविताकाे छाेटाे अँश सुनाउदै भन्नुभयाे, ‘आमाले आकाशमा उडिरहेकाे जहाँज देखेर भनेकि थिइन, ‘बाबु एक दिन हवाइ जहाँजमा उड्नुपर्छ ।’

हिममाया पाैडेलद्वारा परिचय प्रस्तुत

लामो समयदेखि नेपाली साहित्य र संगीतको क्षेत्रमा सक्रिय स्रष्टा महेश्वर पन्तको साहित्यिक योगदान र सामाजिक काममा संलग्नता रहेकाे छ । अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएर नेपाली वाङ्मयको श्रीवृद्धिमा लागिपरेका पन्तका हालसम्म एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन्।

जन्म र शिक्षा

पर्वतको फलेबास-२ मा पिता गोविन्दप्रसाद पन्त र माता उर्मिलादेवी पन्तको कोखबाट विक्रम संवत २०२४ कात्तिक २५ गते जन्मिएका पन्तले एम.बी.ए. सम्मको शिक्षा हासिल गर्नुभएकाे छ । उहाँ विगत २६ वर्षदेखि अमेरिकाको बोस्टनमा बसोबास गर्दै आउनु भएकाे छ ।

साहित्यिक यात्रा र कृतिहरू

पन्तका सिर्जनाहरूमा विशेषगरी मानवीय संवेदना, प्रवासका भोगाइ र मातृभूमिप्रतिको अगाध प्रेम झल्किने गर्दछन्। उहाँका प्रकाशित प्रमुख कृतिहरू:

  • गीति एल्बम: झझल्को (२००८), बिर्सनेको यादमा (२०१२), सृष्टि (२०१४), रक्त दान जीवन दान (२०१५)।
  • कथा/गजल/कविता: हराएको मान्छे (गजल सङ्ग्रह, २०११), ओझेल परेको जून (गीत सङ्ग्रह, २०१४), मुन्द्री (कथा सङ्ग्रह, २०१७), नबोल्नेहरू (कथा सङ्ग्रह, २०१९), उडेका पैताला (कविता सङ्ग्रह, २०२३), धर्तीमुनिका तारा (कथा सङ्ग्रह, २०८२)।
  • उपन्यास: फुर्लुङ (२०२०) र बौलाको डायरी (२०२२)।

उनको चर्चित उपन्यास ‘फुर्लुङ’ ले सन् २०२० मा रत्नश्री पुरस्कार प्राप्त गरेको थियो भने ‘बौलाको डायरी’ का लागि उनलाई अनेसास होमनाथ सुवेदी डायोस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार प्रदान गरिएको छ।

साहित्यबाहेक पन्त विभिन्न सामाजिक संघसंस्थामा पनि नेतृत्वदायी भूमिकामा रहनु भएकाे छ । उहाँ हिमालयन लायन्स क्लब (न्यु इङ्गल्याण्ड, बोस्टन) का चार्टर प्रेसिडेन्ट, ब्लड डोनर्स अफ अमेरिका (विडीए) का केन्द्रीय उपाध्यक्ष र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बोस्टन च्याप्टरका अध्यक्ष (सन् २०२५-२०२६) समेत हुनुहुन्छ।

लोक लयमा गायन, घुमफिर र संगीत साधनामा रुचि राख्ने पन्तलाई नेपाली साहित्यमा हिम्मतका साथ कलम चलाउने र डायोस्पोरामा रहेर पनि नेपाली भाषाको जगेर्ना गर्ने स्रष्टाका रूपमा चिनिनुहुन्छ।

यसअघि कार्यक्रममा सहभागिलाई प्रतिष्ठानका उपाध्यक्ष गीता तिवारीले स्वागत गर्दै ‘धर्तीमुनिका तारा’ केवल कथाहरूको संग्रह मात्र होइन, याे निर्दोष आँखाबाट संसारलाई हेर्ने एउटा सुन्दर दृष्टिकोण भएकाे बताउनु भयाे ।

पोखरा आफैँमा कला, साहित्य र संस्कृतिको उर्वर भूमि हो। यहाँ यस्ता कृतिको चर्चा हुनुले यस क्षेत्रको प्राज्ञिक गरिमालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएकाे बताउनु भयाे ।

कार्यक्रम लघुकथा प्रतिष्ठान गण्डकीका अध्यक्ष कल्याण पन्तकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन सचिव विष्णु वास्ताेलाले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0