
नोन्थाबुरी (थाइल्यान्ड), २ चैत । थाइल्यान्डमा आयोजित अनौठो ‘डेथ फेस्ट’ नामक कार्यक्रमले मानिसहरूलाई जीवनको अन्तिम सत्य अर्थात् मृत्युबारे खुलेर सोच्न र स्वीकार गर्न प्रेरित गरिरहेको छ । बैङ्कक नजिकैको नोन्थाबुरी प्रान्तमा आयोजित तीनदिने कार्यक्रममा सहभागीहरूले मृत्युको सामना गर्ने मानसिक तयारीसँगै त्यसका व्यावहारिक पक्षबारे जानकारी पाउने अवसर पाएका छन् ।
दोस्रो वर्षमा प्रवेश गरेको यो कार्यक्रमले धेरैलाई असहज लाग्ने विषयलाई सार्वजनिक छलफलको केन्द्रमा ल्याएको छ । थाइल्यान्डको सामाजिक र धार्मिक परम्परामा बौद्ध धर्मको गहिरो प्रभाव रहेको छ, जहाँ जन्म, बुढ्यौली, रोग र मृत्यु जीवनका अनिवार्य दुःखका रूपमा व्याख्या गरिन्छ । यही दर्शनलाई आधार बनाएर कार्यक्रमले मृत्युको तयारी मात्र नभई, जीवनको अन्तिम समयसम्म राम्रो जीवनयापन कसरी गर्ने भन्ने विषयमा पनि ध्यान केन्द्रित गरेको छ ।
कार्यक्रममा सहभागी साङ्दुआन न्गाम्भिनिजरुन आफ्नी आमासँग मेलामा पुग्नुभएको थियो । उहाँले आफ्नो परिवारमा मृत्युबारे कुरा गर्न पहिले निकै गाह्रो हुने बताउनुभयो । तर २० वर्षभन्दा बढी समय बिरामी आफन्तहरूको हेरचाह गर्दै बिताएपछि उहाँले धेरैको मृत्यु प्रत्यक्ष देख्नुभएको र अहिले यसबारे खुलेर कुरा गर्न सक्ने अवस्थामा पुग्नुभएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रमको उद्देश्य केवल ‘राम्रोसँग मर्ने तरिका’ सिकाउनु मात्र नभई, मानिसले बाँचुन्जेल आफ्नो जीवनको गुणस्तर कसरी राम्रो बनाउने भन्ने विषयमा सोच्न प्रेरित गर्नु पनि हो ।
कार्यक्रममा स्वास्थ्य सेवा, वित्तीय योजना, राहतमुखी हेरचाह, अन्त्येष्टि सेवा र स्मारक व्यवस्थापनसँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ तथा संस्थाहरू सहभागी भएका थिए । यहाँ आयोजित वार्ता र गतिविधिहरूले मृत्युको तयारी मात्र नभई, जीवनको अन्तिम दिनसम्म सम्मानजनक र अर्थपूर्ण जीवन कसरी जिउने भन्ने विषयमा केन्द्रित चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























