
पोखरा, ३० फागुन । एमाले कास्की क्षेत्र न. १ को चुनाबी समिक्षा बैठकमा हृदयघात भएर निधन भएका एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण बहादुर थापाको शनिबार अन्त्येष्टि गरिएको छ।
गएकाे बिहिबार दिउँसाे साढे ३ वजे समिक्षा बैठकमा बाेलिसकेपछि एक्कासि असहज महसुस गरेका उनलाइ तुरुन्तै उपचारका लागि मणिपाल शिक्षण अस्पताल लागिएकोमा डाक्टरले मृत घाेषणा गरेका थिए ।
थापा पोखराका पुर्व मेयर हुन् भने गण्डकी प्रदेशसभाका पुर्व सदस्य पनि हुन् । अध्ययनका लागि बेंगलोरमा रहेका थापाका छोरा प्रतिक र बेलायतमा रहेका भाई मोहन शुक्रबार नेपाल आएपछि आज उनको अन्त्येष्टि गरिएको हो ।
थापाको अन्त्येष्टि अघि एमालेको नेता कार्यकर्ताहरु र विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधिहरुले श्रद्धाञ्जली दिएका थिए । अन्तिम श्रद्दान्जलीको लागि शवलाइ एमाले कास्कीको कार्यालय परिसरमा राखिएकाे थियो ।
थापा २०५४ सालमा पोखरा नगरको मेयरमा विजयी भएका थिए । उनले ०५९ सालसम्म मेयर भएर काम गरेका थिए । २०७४ को निर्वाचनमा कास्की–२ ‘क’बाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
स्व. थापाप्रति श्रद्धाञ्जली दिनका लागि पाेखरा आएका एमालेका उपाध्यक्ष तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्व. थापाको शरीरमा पार्टीको झन्डा ओढाएका थिए ।
पोखरा महानगरपालिकाद्वारा आइतबार शाेक बिदा

पोखरा महानगरपालिकाले पोखराका पूर्व नगर प्रमुख रहेका कृष्णबहादुर थापाको निधनप्रति शोक व्यक्त गर्दै चैत १ गते महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। सार्वजनिक सूचना जारी गर्दै थापाको निधनमा एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जानकारी गराएकाे हो।
























