
ला पाज, १६ फागुन । बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।
सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्णरूपमा नष्ट भएको र केही ट्रकमा क्षति पुगेको देखिएको छ ।
विमान ठोक्किएपछि सडकमा छरिएका बैंकनोट सङ्कलन गर्न दर्शकहरू हतारिएका थिए, जसलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पछि अधिकारीहरूले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए । दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन ।
प्रत्यक्षदर्शीहरूले त्यसबेला मौसम अत्यन्त खराब रहेको बताएका छन् । ६० वर्षीया विक्रेता क्रिस्टिना चोकले एएफपीसँग कुरा गर्दै भारी असिना परेको र बिजुली चम्किरहेको बताउनुभयो । उहाँको कारमा विमानको भग्नावशेष ठोक्किएको थियो । “टायर हाम्रो माथि खस्यो… मेरी छोरी घाइते छिन्, उनको टाउकोमा चोट लागेको छ”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























