
वासिङ्टन, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गर्ने बताउनुभएको छ । उहाँका अनुसार भविष्यमा हार्वर्डसँग कुनै थप सहकार्य गर्ने योजना पनि छैन ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै हाल एक अर्ब डलर क्षतिपूर्तिको माग अघि सारिएको र हार्वर्ड विश्वविद्यालयसँग अब थप कुनै काम गर्न नचाहेको उल्लेख गर्नुभएको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले हार्वर्डसहित केही प्रतिष्ठित कलेजहरूले तथाकथित ‘वेक’ विचारधारालाई प्रवर्द्धन गरेको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनका क्रममा यहुदी विद्यार्थीहरूलाई पर्याप्त सुरक्षा दिन ती संस्थानहरू असफल भएका थिए । यस विषयमा कानूनी उजुरी दर्ता गरिएको र अत्यधिक भुक्तानीको माग अघि सारिएको बताइएको छ । आलोचकहरूले भने यस कदमलाई उदार विश्वविद्यालयहरूमाथि प्रशासनको दबाब अभियानका रूपमा व्याख्या गरेका छन् ।
यसअघि आइभी लिगकै अर्को संस्था कोलम्बिया विश्वविद्यालयले गत गर्मीमा ट्रम्प प्रशासनलाई २० करोड डलर तिर्न सहमति जनाएको थियो । सो सम्झौताअन्तर्गत विश्वविद्यालयले भर्ना र भर्ती प्रक्रियामा जातीय आधारलाई ध्यानमा नलिने नियमहरू पालना गर्ने वाचा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























