
काइरो, १९ माघ । इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ ।
दुई वर्षभन्दा बढी समयदेखि युद्ध र नाकाबन्दीको मारमा परेका गाजावासीहरूले आइतबार आशा र अधैर्यका साथ नाका पुनः खोल्ने तयारी अवलोकन गरेका छन् । इजरायलले हमाससँग भएको युद्धविराम कार्यान्वयनको प्रक्रियासँगै रफाह नाका पुनः खोलिने जनाएको हो ।
इजरायली अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा अत्यन्तै सीमित सङ्ख्यामा मानिसहरूलाई मात्र आवतजावतको अनुमति दिइनेछ । खान युनिसकी बासिन्दा घालिया अबु मुस्तफाले नाका खुल्नु सकारात्मक कदम भए पनि पार गर्न दिइने मानिसको सङ्ख्या सीमित हुनु गम्भीर समस्या भएको बताउनुभयो ।
इजरायलले नाका परीक्षणका रूपमा आंशिक रूपमा खोलिएको र सोमबारदेखि बासिन्दाहरूलाई पार गर्न अनुमति दिइने जनाएको छ । तर सुरुमा थोरै मानिसहरूलाई मात्र आवागमनको अनुमति हुनेछ । रफाहकी विस्थापित बासिन्दा सुहाइला अल–अस्तालले गम्भीर बिरामी छोरीलाई उपचारका लागि विदेश लैजान आवश्यक रहेको भन्दै नाका स्थायी रूपमा खुल्नुपर्ने माग गर्नुभयो ।
इजरायलको यो घोषणा युद्धविराम सुरु भएपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमणको एक दिनपछि आएको हो । शनिबार भएको इजरायली आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जना प्यालेस्टिनी मारिएका थिए । इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























