
काठमाडौं, २१ मङ्सिर । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार आज नेपाली शेयर बजारले गिरावटलाई निरन्तरता दिएकाे छ । गएकाे साताकाे पहिलाे दिनदेखि नेप्सेमा लगातार गिरावट भइरहने क्रम राेकिएकाे छैन ।
आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.७० अंकले घटेको छ । फ्लोट इण्डेक्स १.५७ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले घटेको छ।
कारोबार रकममा केहि बृद्धि भएकाे छ। गत बुधबार ५ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियाे । यसदिन ३२५ स्टकको ८९ हजार ७३१ पटकको कारोबारबाट रुपैयाँ ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार बराबरको १ करोड ७ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो। मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत नजिक बढेको छ। बुङ्गल हाइड्रोको शेयरमूल्य ८.५१ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा सागर डिष्टिलरी अगाडी रहेकाे छ। कम्पनीको ४३ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको साढे ३२ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ । बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँको काराेबार भएको छ।
१३ वटै उपसमूहहरुमा राताे लागेकाे छ। जलविद्युत उपसमूहको परिसूचक १.२२ प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेको नेप्सेले जनाएकाे छ।
























