लन्डन, ४ कात्तिक । लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ । यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ ।

फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गर्नुभएको थियो । त्यसयता यसले ब्रिटिस साम्राज्यको समय, दोस्रो विश्वयुद्धका बेला भएको बमबारी र भवन भत्काएर सडक विस्तार गर्ने योजनासमेत पार गरेको छ । परम्परागत बेलायती परिकारका लागि परिचित यस रेस्टुरेन्टमा चाल्र्स डिकेन्स, चार्ली च्याप्लिन, डेभिड बोवी र म्याडोनाजस्ता चर्चित व्यक्तित्वले भोजन गर्नुभएको थियो ।

राजा एडवर्ड सातौँ पनि आफ्ना प्रेमिकाहरूसँग भेट्न त्यहाँ जाने गरेको इतिहास छ । सेन्ट्रल लन्डनको कोभेन्ट गार्डेनस्थित ३४–३५ मेडन लेनमा रहेको चारतले भवनका पछिल्ला चार दशकदेखिका मालिक जेपी मेह्यूले यसलाई नेसनल ट्रस्टलाई दान गर्ने निर्णय गर्नुभएको हो ।

“विश्वमा रूल्सजस्ता समयको परीक्षा पार गरेका रेस्टुरेन्ट थोरै छन्”, मेह्यूले बुधबार भन्नुभयो, “यस स्थानका इँटा र गारो, प्रसिद्ध भित्री सजावट तथा आँखाले देख्न नसकिने विशेष वातावरणको संरक्षण ट्रस्टले अरू कसैले गर्न नसक्ने गरी गर्नेछ ।”

महत्त्वपूर्ण ऐतिहासिक स्थललाई संरक्षण गर्दै सर्वसाधारणका लागि खुला राख्ने उद्देश्य बोकेको नेसनल ट्रस्टले एक करोड १० लाख पाउन्ड अर्थात् करिब एक करोड ४० लाख अमेरिकी डलर बराबरको दानले भवनको भविष्य सुरक्षित हुने जनाएको छ । ट्रस्टका अनुसार कुनै समय राजा–महाराजाले भोजन गर्ने तथा लेखक र राजनीतिज्ञले योजना बनाउने यो भवनको ऐतिहासिक महत्त्व विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0