पोखरा, १ असोज। राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख सुवास पन्तले पूर्वीय दर्शन, गणित र विज्ञानको आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ। लामाचाैर, पाेखरा १६ मा रहेकाे गण्डकी बोर्डिङ स्कुलमा आयोजित १४औँ राष्ट्रिय विज्ञान दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख पन्तले उक्त कुरा बताउनुभएको हो।

सम्बोधनका क्रममा प्रमुख पन्तले परापूर्व कालमा पूर्वीय दर्शनमा कल्पना गरिएको उड्ने ‘पुष्पक विमान’कै अवधारणामा आधारित रहेर पछि राइट दाजुभाइले आधुनिक विमानको आविष्कार गरेको प्रसङ्ग उल्लेख गर्नुभयो। “हाम्रो पूर्वीय दर्शन र गणितबिनाको विज्ञानको कल्पना हाम्रो सन्दर्भमा अधुरो हुन्छ,” उहाँले भन्नुभयो।

अहिलेको आधुनिक युगमा सेलफोनदेखि लिएर विभिन्न वैज्ञानिक खोज तथा आविष्कारहरूले मानव जीवनलाई सहज बनाएको चर्चा गर्दै उहाँले विज्ञान र प्रविधिको प्रयोग गर्दा प्राकृतिक सन्तुलन र दिगो विकास (Sustainable Development) लाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो। “विज्ञानको अनियन्त्रित र अनावश्यक प्रयोगले वातावरणमा जोखिम निम्त्याउँछ, त्यसैले प्रकृतिलाई माया गर्दै प्रविधिको प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो।

पछिल्लो समय नेपालमा बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिहरू बढ्दै गएको प्रसङ्गमा बोल्दै उहाँले वैश्विक तापमान वृद्धि (Global Warming) र जलवायु परिवर्तनका क्षेत्रमा नेपालले भोगेको असरबारे अन्तर्राष्ट्रिय स्तरमै न्यायपूर्ण खोज र समाधान हुनुपर्ने धारणा राख्नुभयो। साथै विपद्का बेला खोज तथा उद्धारमा विज्ञान र प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।

विद्यार्थीहरूलाई प्रेरित गर्दै प्रमुख पन्तले दृढ इच्छाशक्ति र मेहनत भए नेपाली विद्यार्थीहरू पनि नासा (NASA) जस्ता विश्वविख्यात वैज्ञानिक संस्था तथा अनुसन्धान केन्द्रहरूमा पुगेर नेतृत्वदायी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम ढाँचा (National Curriculum Framework) र विद्यालय तहको पठनपाठन तथा निरन्तर मूल्यांकन प्रणाली (CAS) का विषयमा चर्चा गर्दै उहाँले पाठ्यक्रममा आधारित रहेर शिक्षण सिकाइ र मूल्यांकन प्रक्रियालाई अघि बढाउन शिक्षक तथा विद्यालयहरूलाई आग्रह गर्नुभयो।

गण्डकी बोर्डिङ स्कुलसँग आफ्नो पुराना सम्झनाहरू गाँसिएको उल्लेख गर्दै प्रमुख पन्तले कार्यक्रममा उपस्थित सम्पूर्ण शिक्षक, विद्यार्थी तथा आयोजक परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो।

व्यावहारिक ज्ञान र चरित्र निर्माणमा जोड-केशव नेपाल

विशेष अतिथि वर्ल्डलिंकका कार्यकारी अधिकृत (सिइओ) केशव नेपालले कक्षाकोठाको सिद्धान्तलाई व्यावहारिक जीवन र कार्यक्षेत्रमा प्रयोग (एप्लाई) गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ।

सोही विद्यालयका भूतपूर्व विद्यार्थी समेत रहनुभएका अधिकृत नेपालले आफ्ना पुराना विद्यालयका अनुभवहरू स्मरण गर्दै शिक्षाको वास्तविक सार ज्ञान, चरित्र र सेवा (Knowledge, Character, and Service) मा निहित हुने बताउनुभयो।

उहाँका मन्तव्यका प्रमुख मुख्य अंशहरू:

व्यावहारिक ज्ञानको महत्त्व: विद्यालयमा हासिल गरिएका साना-तिना व्यावहारिक र प्राविधिक ज्ञानले नै भविष्यको कार्यक्षेत्रमा आउने ठूला-ठूला जटिल समस्याहरू समाधान गर्न मद्दत पुर्याउने उहाँले बताउनुभयो। चरित्र निर्माण: ज्ञान मात्र पर्याप्त नहुने भन्दै उहाँले सही र गलत छुट्ट्याउने र प्राप्त ज्ञानलाई सकारात्मक कार्यमा लगाउने नैतिक चरित्रको विकास गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

निरन्तर प्रयास र नवप्रवर्तन: विज्ञान र प्रविधिको क्षेत्रमा असफलताहरू स्वाभाविक हुने भएकाले हार नखाई निरन्तर प्रयास (Try) गरिरहनुपर्नेमा उहाँको जोड थियो। अतिरिक्त क्रियाकलाप: किताबी ज्ञानका साथै खेलकुद, क्लब तथा स्वयंसेवा जस्ता अतिरिक्त क्रियाकलापले नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै अधिकृत नेपालले बालबालिकाहरूलाई भविष्यका सपना देख्न, मेहनत गर्न र देशको सेवामा समर्पित हुन हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

रटनाभन्दा व्यवहारिक सिकाइमा जोड दिनुपर्छ: डा. विश्वयुधिर पौडेल घर्ती

गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका प्राचार्य डा. विश्वयुधिर पौडेल घर्तीले विद्यार्थीहरूलाई घोकेर वा रटेर जाँचका लागि मात्र नभई व्यवहारिक ज्ञान हासिल गराउनेतर्फ शिक्षा प्रणाली केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ।

विज्ञान दिवस (असोज १) को अवसरमा गण्डकी बोर्डिङ स्कुलको विज्ञान विभागद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य डा. घर्तीले उक्त कुरा बताउनुभएको हो।

सम्बोधनका क्रममा उहाँले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित राख्न नहुने स्पष्ट पार्नुभयो। “कक्षाकोठाभित्र मात्र सीमित राख्दा केही प्रकृतिका विद्यार्थीहरूले त सिक्छन्, तर सिकाइको प्रकृति अनेक किसिमको हुने भएकाले हाम्रा सिकाइ विधिहरू पनि फरक र व्यावहारिक हुन जरुरी छ,” उहाँले भन्नुभयो।

हाल नेपाल सरकारले पनि कक्षा ५ सम्म परीक्षा प्रणाली (Examination System) हटाएर निरन्तर मूल्यांकन प्रणाली (Continuous Assessment System) र ‘बुक फ्रि फ्राइडे’ (Book-free Friday) जस्ता व्यवहारिक कार्यक्रमहरू लागू गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता प्रणाली माथिल्ला कक्षासम्म विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो।

साथै, उहाँले विद्यालयका अन्य सातवटा विभागहरूलाई पनि आगामी वर्षदेखि आ-आफ्नो विषयवस्तु सुहाउँदा व्यवहारिक कार्यक्रमहरू आयोजना गर्न आग्रह गर्नुभयो। त्यसका लागि वर्षको अन्त्यमा बजेट निर्माण गर्दा नै प्रस्ताव समावेश गर्न उहाँले निर्देशन दिनुभयो।

पिटिए मेम्बर तथा पत्रकार केशवसरण लामिछानेले विज्ञान दैनिक जिवनकाे अभिन्न अंग भएकाे बताउँदै विद्यार्थीकाे शिक्षण सिकाइकाे वातावरण विज्ञानमैत्री हुनुर्ने बताउनु भयाे । उहाँले मानिसकाे जिवनलाई सहज बनाइरहेकाे, समयकाे बचत तथा धेरै काम हुने र आपदविपदकाे बेलामा समेत यसकाे सहयाेग महत्वपूर्ण हुने बताउनु भयाे ।

सहभागिलाई स्वागत-शिक्षक राजकुमार ढकाल

गण्डकी बोर्डिङ स्कुलका पूर्व विज्ञान विभागीय प्रमुख तथा वर्तमान छात्रावास निरीक्षक राजकुमार ढकालले असोज १ गते मनाइने राष्ट्रिय विज्ञान दिवस केवल विद्यार्थीहरूको मात्र नभई सम्पूर्ण विज्ञान प्रेमीहरूको साझा उत्सव भएको बताउनुभएको छ। ढकालले विज्ञान, नवीन सोच र आविष्कारको महत्वमाथि प्रकाश पार्नुभयाे ।

स्वागत मन्तव्यका क्रममा उहाँले राष्ट्रिय विज्ञान दिवसको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै भन्नुभयो, “नेपालको पहिलो पब्लिक साइन्स क्याम्पस (अमृत साइन्स क्याम्पस/अस्कल) को स्थापना विक्रम संवत् २०१३ साल असोज १ गते भएको थियो।

सोही स्थापना दिवसको स्मरण गर्दै नेपाल सरकारले वि.सं. २०७० देखि यस दिनलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउन थालेको हो।”

विज्ञान विभागका विभागीय प्रमुख शकुन्तला गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन शिक्षक तथा कार्यक्रम संयाेजक सुजन लम्सालले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0