
तेहरान, १८ भदौ । इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा युद्ध थप विस्तार हुने र हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने जोखिम बढेको छ । अमेरिकाले इरानी लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ भने इरानले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्न ‘नयाँ रणनीति’ अपनाउने चेतावनी दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी सेनाले राताभर इरानी लक्ष्यमा ‘धेरै भारी आक्रमण’ गरेको र आवश्यक परे जुनसुकै बेला पुनः आक्रमण गर्न तयार रहेको बताउनुभयो । उहाँले हर्मुज जलघाँटीको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने सुझावसमेत दिनुभयो । उक्त जलमार्ग अहिले अमेरिकी नियन्त्रणमा रहेको उहाँको दाबी भए पनि पछि आफ्नो भनाइ गम्भीर नभएको सङ्केत गर्नुभएको थियो ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका–इजरायलको आक्रमणपछि इरानले नयाँ रणनीति अपनाएको बताउनुभएको छ । उहाँले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्दै अमेरिकी आधारलाई ध्वस्त पार्ने चेतावनी दिनुभयो । यसैबीच, अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले इरानका आर्थिक साझेदारलाई लक्षित गरी प्रतिबन्ध विस्तार गर्ने योजना रहेको र त्यसबाट अधिकतम आर्थिक दबाब सिर्जना गरिने बताउनुभएको छ ।
मङ्गलबार इरानमा अमेरिकी बमबारी भएपछि इरानले जोर्डन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन तथा इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























