
नयाँदिल्ली, ३ पुस । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ ।
भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओमानसँग यसै साता पहिलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विवरणहरू अझै सार्वजनिक नभएकाले नाम नखुलाउने सर्तमा अधिकारीहरूले जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार बिहीबार भारत–ओमान स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ, जसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी ओमानको राजधानी मस्कट पुग्नुहुने सम्भावना छ ।
यस सम्झौताले द्विपक्षीय व्यापार विस्तार गर्नुका साथै भारतका इन्जिनियरिङ सामान, कपडा, औषधि तथा कृषि उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताइएको छ । स्वतन्त्र व्यापार सम्झौताहरू भारतको दीर्घकालीन आर्थिक रणनीतिको केन्द्रीय आधार मानिन्छन् । यी सम्झौतामार्फत विश्वव्यापी आपूर्ति शृङ्खलामा अझ गहिरो रूपमा एकीकृत हुने, निर्यात वृद्धिलाई बलियो बनाउने र दिगो रोजगारी सिर्जना गर्ने भारतको लक्ष्य रहेको अधिकारीहरूले बताएका छन् ।
कर घटाउने र पूर्वानुमानयोग्य व्यापार नियम तय गर्ने माध्यमबाट यस्ता सम्झौताले भारतीय व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न र नयाँ बजारमा पहुँच विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























