
पोखरा, ९ मंसिर । तमु अभियन्ता स्व.श्रीप्रसाद गुरुङको १२ औं स्मृति सभा आज पोखरामा उनको योगदानको चर्चा गर्दै सम्पन्न भएको छ ।
स्मृति सभामा वक्ताहरुले तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका संरक्षक, परिषदका पूर्व महासचिव एवम् तत्कालिन तमु छोंज धींका संस्थापक महासचिव तथा तमु अभियन्ता स्व.गुरुङको तमु समुदायलाई एकताको सुत्रमा ल्याउन गरेको पहल स्मृतिमा ताजै रहिरहेको बताए ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति कास्कीले आयोजना गरेको स्मृति सभामा प्रमुख अतिथि परिषदका केन्द्रीय उपाध्यक्ष मनोज गुरुङले स्व.गुरु बहुआयामिक, प्रगतिशिल, गतिशिल र राजनीतिक चेतना भएको व्यक्तित्व भएको बताए ।
तमु समुदायको हकअधिकारको लागि स्व.गुरुङले खेलेको भूमिका अदितिय छ । त्यसैले हामीले बैठकबाटै उहाँलाई तमु अभियन्ता भनेर उपाधि दिईसकेका छौं । तमुहरुको भाषा, आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्य तथा सांस्कृतिक उत्थानका लागि देशदेखि छिमेकी देशसम्म कार्यक्रमहरु लैजाने गर्नुहुन्थ्यो, उपाध्यक्ष गुरुङले सुनाए ।
तत्कालिन समयमा पोखरामा उपप्रधापञ्च र केही समय कार्यबाहक प्रधानपञ्चको जिम्मेवारी सम्हालेका स्व.गुरुङ काहुँ धरहराको सुत्रधार, पोखरा महानगरपालिका रहेकाे कार्यालयको विकास, मियाँपाटनको बस्ति व्यवस्थापन, विभिन्न स्कुल, कलेजमा शिक्षाको उन्नयनमा खेलेको भूमिका अहिलेको पुस्ताका लागि स्मरणीय र प्रेरक भएको बताए ।
कार्यक्रममा परिषदकी केन्द्रीय उपमहासचिव विष्णुमाया गुरुङले स्व.गुरुङ समुदायलाई चेतनाको उज्यालो बाटोमा हिडाउने व्यक्तिको सोंच अनुसार सबै तमुहरु एकतामा आउन नसक्नु दुःखद् भएको बताईन् । उनले केही संस्थाको अड्डिपनको कारण एकतामा ढिलाई भईरहेको बताईन् ।
रेडियो नेपाल पोखराकी प्रमुख शान्ति गुरुङले स्व.गुरुङ हरबखत् सक्रिय रहने, छलफलमा बोलाउने, केही गर्नका लागि प्रेरित गर्ने व्यक्ति भएको बताईन् । पूराना कुराकाे स्मरण गर्दै भनिन्, उहाँले हामीलाई धेरै अगाडी किनि दिएकाे तमु कलाकारले लगाउने पोशाक अझैं घरमा रहेको बताईन् । कला, साहित्यका पारिख, राजनीतिक चेतनाका खानी स्व.गुरुङले नेपालदेखि भारतका सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्न लगेको स्मृतिमा ताजै रहेको बताईन् ।
स्मृति सभामा परिषदका पूर्व सल्लाहकार खुसिमान गुरुङ, राजेन्द्र गुरुङ, परिवारको तर्फबाट भाई चन्द्र बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष ईन्द्र बहादुर गुरुङ लगायतले स्व.गुरुङको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा हालै तमु प्हेलु संघ युवा समितिको अध्यक्षमा चयन भएकी पवित्र गुरुङलाई सम्मान गरिएको थियो । परिषदका वरिष्ठ उपाध्यक्ष सु.ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आश बहादुर गुरुङले गरेका थिए ।
सभापछि बसेकाे परिषदकाे बैठकले हाल कास्कीका पालिकाहरुमा तमु अभियान चलिरहेको र आफ्नो थातथलोको नामको पुर्नस्थापना, संगठन बिस्तार लगायतका विषयमा मंसिर १२ गते अन्नपूर्ण गाउँपालिकामा जागरण कार्यक्रम जाने तयारी गरेकाे अध्यक्ष सीता गुरुङ बताइन्।
























