महोत्तरी, ७ मङ्सिर। मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो ।

यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छभने ‘मटकोर’ एक दिन पहिले सोमबार सम्पन्न गरिनेछ । सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

“मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौँ”, डा वैष्णव भन्नुहुन्छ, “यसमा मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।” मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ । माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् ।

यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ । भूमि पूजनको भाव भने पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । यसरी खनेर ल्याइएको माटोले विवाह मण्डप, वेदी, चुल्हो बनाउनसँगै देवदेवीस्थल लिपपोत गरिन्छ ।

मिथिलामा यी सबै विधिमा माङ्गलिक गीत गाइन्छन् । त्रेतायुगमा श्रीराम र सीताजीको विवाहमा हालको मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउबाट यज्ञवेदी बनाइन माटो खनिएको विश्वास गरिन्छ । मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ । यहाँ भोलिपल्टको जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त मटिहानी बस्ने पुरानो चलन छ ।

श्रीराम र सीताका बीच विवाह भएको सम्झनामा मनाइने यो महोत्सवमा पहिलो दिन ‘नगर दर्शन’ उत्सवको परम्परा छ । यो उत्सव श्रीराम, गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आइपुग्नुभएको सम्झनामा मनाइने गरिएको हो । यस दिन श्रीराम र लक्ष्मणले राजा जनकको दरबार परिसर र जनकपुर नगर अवलोकन गर्नुभएको सम्झनामा प्रतीकात्मक रूपमा मनाइन्छ । यस क्रममा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्रको भूमिकामा सजिएका पात्रहरूलाई राजा जनकका भारदारहरूले नगरको अवलोकन गराउँछन् । महोत्सव सुरु भएसँगै सम्पूर्ण मिथिलाक्षेत्र उत्सवमय बन्दछ ।

खासगरी अयोध्या र भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको नेपाल प्रवेशद्वार महोत्तरीको जलेश्वरको भिठ्ठामोर र मटिहानी हुने हुँदा यहाँ यसको तयारी विशेष रूपमा गरिन्छ । भारततिरबाट महोत्सवका लागि साधुसन्त आउने क्रम मङ्सिर शुक्लपक्षको प्रारम्भसँगै सुरु भए पनि अधिकांश विवाहपञ्चमीको एक दिनअघि आउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0