
वासिङ्टन, ४ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नुभएको छ ।
यो कदमले लामो समयदेखि आलोचना झेलिरहेको वासिङ्टनको शक्तिकेन्द्रमा नयाँ हलचल ल्याएको छ र राष्ट्रपति स्वयं उक्त बहसलाई पारदर्शितातर्फ मोड्न इच्छुक हुनुहुन्छ कि संवेदनशील विवरण लुकाउन खोज्दै हुनुहुन्छ भन्ने प्रश्न पनि उठेको छ । महिनौँसम्म चलेको विरोधमत उल्ट्याउँदै र मङ्गलबार दुर्लभ देखिने द्विदलीय सहमतिसहित विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले आकस्मिक निर्णय गर्दै यसमा हस्ताक्षर गर्नुभएको हो ।
दिवङ्गत एपस्टिनका पुराना परिचित पनि मानिनुहुने राष्ट्रपति ट्रम्पले बुधबार राति आफ्नो सोसल मिडिया प्लेटफर्ममार्फत कुनै ‘राजनीतिक नाटक’ मा नअड्किने भन्दै विधेयक अनुमोदनको घोषणा गर्नुभयो । तर हस्ताक्षर भएर कानून बने पनि संवेदनशील विवरणहरू सार्वजनिक गर्ने प्रक्रियामा जानाजानी ढिलाइ, अत्यधिक सम्पादन (रेडक्सन) वा लामो सङ्घीय अनुसन्धानको आड लिइने सम्भावना रहने प्रशासनभित्रका अधिकारीहरूले चेतावनी दिएका छन् ।


























