
पाकिस्तान, २ कात्तिक । पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले यसअघि कायम युद्धविराम तोडेको थियो ।
गत एक सातादेखि दुई देशबीच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौं सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि यो दुवै देशबीचको सबैभन्दा भीषण द्वन्द्व मानिएको छ । कतारको विदेश मन्त्रालयद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले तात्कालिक युद्धविराम लागू गर्ने र दीर्घकालीन शान्ति तथा स्थायित्वका लागि आवश्यक संयन्त्रहरू स्थापना गर्ने सहमति गरेका छन् ।”
आगामी दिनमा यो सहमति कार्यान्वयनका लागि थप वार्ता गरिने बताइएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै लेखे, “अफगान भूमिबाट पाकिस्तानमा गरिने आतङ्कवादी गतिविधि तत्काल रोकिनेछ । दुवै छिमेकी राष्ट्रहरूले एकअर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नेछन् ।” उनले आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः वार्ता हुने जानकारी पनि दिए।
अफगानिस्तान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले पनि युद्धविराममा सहमति भएको जनाउँदै भने, “दुवै देशले अब कुनै पनि आक्रामक कार्य नगर्ने, न त यस्ता समूहलाई समर्थन गर्ने जसले पाकिस्तानमा आक्रमण गर्ने प्रयास गर्छन् ।” दुबै मुलुकका रक्षा प्रतिनिधिहरूले दोहामा सम्झौतापछि हात मिलाएको तस्बिर पनि सार्वजनिक गरिएको छ ।
मानिसहरू अझै डराइरहेका छन् यस पछिल्लो झडपको मूल कारण सुरक्षा चुनौतीहरू नै मानिएको छ । तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा विशेष गरी अफगान सीमा क्षेत्रमा आतंकवादी आक्रमणहरू तीव्र रुपमा बढेका छन् ।
