पाेखरा, १९ असोज । खहरे मुडुला कार्की कुल पूजा मन्दिर व्यवस्थापन समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सु. राम बहादुर कार्कीको अध्यक्षता र ज्येष्ठ नागरिक मान बहादुर कार्कीको विशेष उपस्थितिमा सभा सम्पन्न भएको हाे।

साधारणसभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ। हाल संस्थाले फेदीखोला-२, खहरेमा पुरानो मन्दिर रहेकै स्थानमा करिब ७५ लाखको लगानीमा कुल मन्दिर र सभाहल निर्माण गरिरहेको छ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सु. कार्कीले कुल मन्दिर निर्माण जस्तो पवित्र, धार्मिक र ऐतिहासिक यो अभियानमा जोडिनको निम्ति समस्त बन्धुहरुलाई आव्हान गरे।

संस्थाका सल्लाहकार कृष्ण बहादुर कार्कीले समय सापेक्ष बन्न लागेको मन्दिर अत्यन्तै सुन्दर र महत्त्वपूर्ण हुनुपर्ने बताउँदै, त्यसको लागि सहयोग गर्न तत्पर रहेको बताए। समाजसेवी नरेन्द्रजंग कार्कीले मन्दिर निर्माणमा सम्पूर्ण बन्धुहरुको साथ समर्थनले मात्र लक्ष्यमा पुग्न सकिने बताए।

युवा व्यवसायी मनोज कार्कीले अग्रजहरुले देखाएको बाटोमा एकजुट भएर हिंड्न हरेक युवाहरुलाई अभिप्रेरित गर्दै आफ्नो तर्फबाट मन्दिर निर्माणको लागि जुनसुकै सहयोग रहने प्रतिबद्धता राखे।

संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन बहादुर कार्कीले स्वागत गरेकाे कार्यक्रममा कोषाध्यक्ष केशव बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने लेखा समिति संयोजक राजकुमार कार्कीले संस्थाका आर्थिक गतिविधिहरुको बारेमा सुझावसहित प्रकाश पारे।

सचिव जीतजंग कार्कीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष बिजय कुमार कार्कीले निर्माणको क्रममा रहेको मन्दिरको अवस्थाबारे जानकारी गराए। साे अवसरमा उपस्थित विभिन्न कार्की बन्धुहरुले मन्दिर निर्माणको लागि आफ्नो तर्फबाट सहयोग रकम घोषणा गरे।

आगामी बैशाखसम्ममा सभाहल र कम्पाउण्डसहित सम्पूर्ण मन्दिर निर्माणकार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको संस्थाका सूचना अधिकारी लाल कार्की अन्जानले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0