
पोखरामा बृहत् मौन शान्ति र्याली गरिने
गण्डकी, २९ भदौ । पोखरा उद्योग वाणिज्य सङ्घले मुलुकको दिगो शान्तिको कामना एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि मङ्गलबार पोखरामा बृहत् मौन शान्ति र्याली आयोजना गर्ने भएको छ ।
सङ्घको आज सम्पन्न वस्तुगत सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले यही भदौ ३१ गते मङ्गलबार बिहान बृहत् मौन शान्ति र्याली आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए।
सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भई पोखराको पृथ्वीचोकसम्म हुने मौन र्याली ‘जेनजी’ आन्दोलनका क्रममा दिवङ्गत भएकाहरूको आत्माको चिरशान्तिको कामना, देशमा भएको अशान्तिको समूल अन्त्य एवम् व्यावसायिक वातावरण निर्माणका निम्ति हुने उनले बताए। “आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ ।
व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणबाट अर्बौ क्षति पुगेको छ । हामी पुनः उठ्नु छ, तर शान्तिबिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन । यो र्याली यी दुवै कामका निम्ति हो”, अध्यक्ष कार्कीले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























