
पेरिस, १५ भदौ । प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ । उहाँले गाजामा जारी युद्ध अन्त्य गर्न दुई–राज्य समाधानलाई अपरिहार्य भन्दै प्यालेस्टिनी राज्य शान्ति र इजरायलको सुरक्षाका लागि आवश्यक रहेको पत्रमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रस्ट पार्नुभएको छ ।
म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताउनुभयो । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३ हजार नाघेको इजरायली तथ्याङ्क छ । हाल गाजाको सबैभन्दा ठूलो सहरलाई लडाइँ क्षेत्र घोषणा गरिएको छ ।
फ्रान्स, बेलायत, क्यानाडा, अस्ट्रेलिया र माल्टाले सेप्टेम्बर २३ देखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता औपचारिक गर्ने बताएका छन् । न्युजिल्यान्ड, फिनल्यान्ड, पोर्चुगलसहित अन्य देशले पनि यस्तै कदम चाल्ने तयारी गरेका छन् ।
नेतान्याहुले भने प्यालेस्टिनी राज्यलाई अस्वीकार गर्दै गाजामा सैन्य कारबाही बढाउने चेतावनी दिनुभएको छ । उहाँले म्याक्रोनको अभिव्यक्तिलाई ‘यहुदी विरोधलाई उक्साउने’ आरोप लगाउनुभयो । अमेरिकाका राजदुत चाल्र्स कुशनरले पनि यस्तो मान्यताले चरमपन्थीलाई प्रोत्साहन गर्ने दाबी गर्नुभयो । उक्त दाबीलाई फ्रान्सले आपत्ति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























