
पोखरा, ११ भदौं। पोखरा–१८, सराङकोटधाममा तीजमेला सम्पन्न भएको छ । मेला अन्तर्गत तीजगीत तर्फ पोखरा २३ स्थित सहनशील दिदीबहिनी समूह प्रथम हुन सफल भयो।
प्रतियोगितामा पोखरा १८ स्थित बौद्ध तामाङ दिदीबहिनी समूह द्वितीय, पोखरा २५ स्थित कमल जैसी आमा समूह तृतीय एवम् पोखरा १८ कै नमुना जागृति आमा समूह सान्त्वना भए।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु. ६१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे। त्यस्तै तोरीपानी दिदीबहिनी समूहको भेषभुषा तथा महिला साना किसान समूहको नृत्य उत्कृष्ट बनेको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।
मेला अन्तर्गत एकल नृत्यतर्फ कृष्मा थापा प्रथम, वृषा जिसी दोस्रो, सञ्जु वयलकोटी तेस्रो तथा श्रीया ढकाल सान्त्वना भए ।उनीहरुले क्रमश नगद रु.१०, ७ हजार, ५ हजार र ३ हजार एवम् प्रमाणपत्र हात पारे। त्यस्तै मेलामा ठेलो हान्ने प्रतियोगिता पनि भएकोमा योगेश तामाङ बिजेता तथा सुशील देवकोटा उपबिजेता बने। उनीहरुले रु.५ हजार १ सय र ३ हजार १ सय एवम् प्रमाणपत्र पुरस्कार पाए ।
त्यस्तै पोखरा महानगरपालिका डोरी तान संघ डोरी तान्ने प्रतियोगितातर्फ प्रथम भयो भने भूमे कालिका आमा समूहले दोस्रो स्थानमा चित्त बुझायो।
मेला समापन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सराङकोटको विकासमा सहकार्य गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्दै सराङकोट ऐतिहासिक स्थल रहेको चर्चा गरे। मन्त्री केसीले सराङकोटलाई पोखराको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको संज्ञा दिदै तीजपर्वका सवल पक्षलाई आत्मसात गर्दै विकृतिहरु अन्त्य गर्नुपर्ने औँल्याए ।
पोखरा १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सीनाले सराङकोट टपबाट सुर्योदय, सुर्यास्तका अलावा पोखराका सबै वडाको दृष्यवलोकन गर्न सकिने स्पष्ट पार्दै सराङकोटलाई नमुना वडा बनाउन पहल भइरहेको सुनाए। उनले विन्ध्यवासिनीदेखि सराङकोट टपसम्म पुग्ने मोटरबाटोको स्तरउन्नती गर्नुपर्ने जनाउदै उक्त योजनालाई वहुवर्षे योजनामा समेट्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
वडा सदस्य एवम् महिला परिचालन उपसमिति संयोजक कल्पना ढकाल क्षत्रीले सराङकोटलाई राम्रो बनाउन प्रयास भइरहेको बताउदै संस्कार र संस्कृतिलाई जीवन्त बनाउने दायित्व आम नागरिकको भएको स्पष्ट पारे।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने चाँडका रुपमा तीजलाई सम्झदै संस्थाले पहिलो पटक तीजमेला आयोजना गरेको जनाए।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा सहयोगी संघसंस्था एवम् व्यक्तिलाई सम्मानपत्र पनि प्रदान गरियो।























