
गुजारा, अफगानिस्तान, ४ भदौ । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ पुगेको एक प्रान्तीय अधिकारीले बुधबार जानकारी दिनुभएको छ ।
हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले एक वक्तव्यमा भन्नुभयो,“यो दुखद घटनामा ७६ जना नागरिकहरूले ज्यान गुमाउनु भएको छ, साथै तीन जना गम्भीर घाइते हुनु भएको छ ।” सेनाको विज्ञप्तिअनुसार, मृतकहरूलाई सैन्य अस्पतालमा सारिएको छ, जसमा एक दर्जनभन्दा बढी बालबालिका समेत रहेका छन् ।
अल–फारुक सेनाको अस्पतालका प्रमुख चिकित्सक मोहम्मद जानान मुकद्दसका अनुसार, धेरै शवहरू यति धेरै जलेका थिए कि पहिचान गर्न गाह्रो भएको थियो । मंगलबार राति हेरात शहर नजिकको गुजारा जिल्लामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, बस इन्धन बोकेको ट्रकसँग ठोक्किँदा आगलागी भएको थियो । दुर्घटनापछि केही घण्टासम्म सडकमा बसको जलिसकेको ढाँचा देखिएको समाचार संस्था एएफपीका एक पत्रकारले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























