

बागमती, १७ साउन । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेको छ । कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेर बिक्री गरी रु छ लाख १७ हजार २१६ राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आव २०८०/८१ मा सो कार्यालयले दुई हजार ५१८ किलो माछा उत्पादन गरेर रु छ लाख १७ हजार ५०० राजस्व सङ्कलन गरेको थियो । कार्यालयको आव २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड कार्प माछाको सात लाख ३० हजार भुरा छोडिएको प्रमुख पौडेलले बताए।
मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । यस्तै माछापालनलाई प्रोत्साहन गर्न सो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सो कार्यालयले आव २०८१/८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालनसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















