
पोखरा, १५ साउन । पोखराका महानगरपालिकाका विभिन्न वडाहरुका सडक छेउका सार्वजनिक स्थानमा रहेका पुराना ऐतिहासिक चौताराका वर पिपल रुखहरु गैरकानूनी रुपमा कटान गर्ने कार्यमा संलग्न रहेका आधा दर्जन व्यक्तिहरुमाथि जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर भएको छ ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरि प्रसाद गौतमले जारी गरेको प्रेस बिज्ञप्तीमा मानव सेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णुराज गिरी, पोखरा महानगरपालिका वडा नं १४ शुभमार्ग टोल बस्ने तारा प्रसाद तिवारी, योगमाया वराल, सोहि वडाको राधाकृष्ण टाले बस्ने अर्जुन बहादुर कार्कि, रामकृष्ण अधिकारी, साधना मार्ग बस्ने ज्ञानेन्द्र कार्कि र रमेश पौडेल रहेका छन् ।
कारबाहीका लागि पोखरा महानगरपालिका, नगर कार्यपालिकाको पत्र, पोखरा पंक्षी समाज, मेरो नेपाल युवा समाज, वातावरण संरक्षणको लागि महाअभियान कास्की, नागरिक समाज कास्की र विभिन्न संघ संस्थाहरुले पेश गरेको उजुरी निवदेनको आधारमा अनुसन्धान गर्दा शुभमार्ग टोलमा रहेका चौताराका वर पिपल लगायतका रुखका हाँगाहरु ऐन, नियमावली अनुसार प्रकृया नै नपुर्याई आफुखुसी काटेको, कानुन बिपरित सम्झौता गरी समिदा बनाउन कोटिहोमका लागि भनि भरपाई गरी लिने लिने गरेको जनाईएको छ ।
यस्तै राधाकृष्ण टोल र साधना मार्गमा रहेका वर पिपलका हाँगाहरु प्रकृया नपुर्याई बेचबिखन गरेको अनुसन्धानको क्रममा पेश भएका कागजातबाट खुल्न आएको उल्लेख छ ।
प्रतिवादीहरुले वन ऐन २०७६ को दफा ३७ को ३ र वन नियमावली २०७९ को नियम ८४ को दफा ६ को प्रकृया नपुर्याई उक्त कार्य गरेको देखिएको निजहरुलाई वन ऐन २०७६ को दफा ४९ घ बमोजिमको कसुरमा सोहि ऐनको दफा ५० को उपदफा १४ बमोजिम सजाय हुने मागसहित अभियोग मागदावि गरी साउन १२ गते कास्की जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ ।


























