
तेहरान, २७ जेठ । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको बताउनुभएपछि इरानको यस्तो भनाइ आएको हो ।
“इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण अर्को आइतबार मस्कटमा आयोजना गरिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मङ्गलबार एक विज्ञप्तिमा भन्नुभयो । उहाँका अनुसार विदेशमन्त्री एवं मुख्य वार्ताकार अब्बास अराघचीले यस हप्ता नर्वेको ओस्लो फोरममा भाग लिनुहुने बताउनुभयो ।
ओस्लो फोरम द्वन्द्व मध्यस्थकर्ताहरूको भेला हो । इरान र संयुक्त राज्य अमेरिकाले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन् । यी वार्ताले सन् २०१५ को मुख्य शक्तिहरूसँगको सम्झौताको ठाउँमा नयाँ आणविक सम्झौता गर्न खोजेको छ । सन् २०१५ को सम्झौतालाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा त्याग्नुभएको थियो ।
मे ३१ मा पाँचौँ चरणको वार्तापछि इरानले आणविक सम्झौताका लागि अमेरिकी प्रस्तावको ‘तत्वहरू’ प्राप्त गरेको बताएको थियो । अराघचीले पछि उक्त पाठमा ‘अस्पष्टताहरू’ रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























