
नयाँदिल्ली, २७ असोज। भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।
जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् ।
आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ । छत्तिस वर्षीय सामग्री निर्माता मेघनाद एसले पक्राउ परेकालाई सहयोग गर्न करिब १७० स्वयंसेवकको सञ्जाल बनाउनुभएको छ । उहाँहरूको समूहले प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गरी पक्राउ परेकाहरूलाई कहाँ लगिएको छ भन्ने जानकारी सङ्कलन गर्छ । त्यसपछि ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट स्वयंसेवक चालक परिचालन गरी खाना, पानी, इन्धन तथा आवश्यक परे चिकित्सकीय सहायता उपलब्ध गराइन्छ ।
विद्यार्थी नेतृ नेहा बोहराजस्तै देखिने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उहाँ चर्चामा आउनुभएको छ । २९ वर्षीया बोहरा भने प्रहरीको घेराबाट उम्केर मध्य दिल्ली पुग्न सफल हुनुभएको थियो । पछि उहाँले आफ्नो जस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोग मात्र भएको, रणनीति नभएको भन्दै व्यङ्ग्य गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























