
काठमाडौं, २७ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयहरूलाई लिएर पार्टीले आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ।
रास्वपा केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सञ्चारमाध्यममा सांसद सुनारसँग जोडिएर आएका समाचार, श्रव्य सामग्री तथा महिलाको मर्यादा, अवाञ्छित धम्की र शंकास्पद आर्थिक लेनदेनजस्ता आरोपहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।
अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर आन्तरिक छानबिनको निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।
विज्ञप्तिमा महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति रहेको पुनः स्पष्ट पारिएको छ। साथै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा पार्टीले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा रास्वपा दृढ रहेको बताउँदै कानुन र विधानविपरीत कार्य गर्ने जो-कोहीलाई पनि पार्टीले राजनीतिक संरक्षण नदिने कुरा विज्ञप्तिमा उल्लेख छ। उक्त विज्ञप्तिमा पार्टीका महामन्त्री विपिन कुमार आचार्यले हस्ताक्षर गरेका छन्।

























